तुइन खोला नजिक खसेको पहिरो हटाउने कार्य सुरु

by समतल अनलाइन
39Shares

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिक खसेको ठूलो सुख्खा पहिरो पन्छाउने काम बिहीबार बिहानैदेखि सुरु गरिएको छ।

बुधबार दिउँसो खसेको पहिरोका कारण सो सडक खण्डमा आवागमन पूर्णरूपमा बन्द भएको हो। बुधबार साँझ ६ बजेदेखि लगातार भारी वर्षा भएपछि पहिरो पन्छाउने काम रोकिएको थियो।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज दिनभरमा पनि बाटो खुल्ने सम्भावना न्यून छ। उनले भने, “आज पानी परेन भने भोलि रातिसम्म पहिरो पन्छाएर शनिबार बिहानसम्म यातायात सञ्चालन गर्न सकिन्छ।”

सडक डिभिजन कार्यालय चितवनले पहिरो पन्छाउन कति समय लाग्छ भन्ने निश्चित नभएकाले यात्रु र सवारीधनीलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।

मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएपछि तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ। दमौली–खैरेनीटारबाट बायाँतर्फ भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिन्छ। मुग्लिनदेखि खैरेनीटारसम्म करिब ७० किलोमिटर दूरी छ।

यो मार्गलाई गण्डकी प्रदेश सरकारले ‘गौरवको योजना’ मा समेटेको छ, जसले मुस्ताङदेखि तराईसम्म जोड्ने लक्ष्य लिएको छ।

गत शुक्रबार पनि सोही खण्डमा पहिरो खस्दा करिब ४६ घण्टा सडक बन्द भएको थियो। त्यस क्रममा दशैं मनाउन घर फर्किने यात्रुहरू सबैभन्दा बढी प्रभावित भएका थिए।

यसैबीच हिजो साँझ पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्गको धादिङ खण्ड बिहान ३ बजेदेखि सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङ खोलामा खसेको पहिरो हटाइसकिएको छ।

तर, धार्के–सितापाइला सडक अझै सञ्चालनमा आउन सकेको छैन। काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्ग मानिने सो सडकको ठुलो खोलामा बुधबार राति ८ बजे खसेको पहिरो अझै पन्छाइएको छैन।

You may also like