बुटवल ।पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले जेनजी आन्दोलनपछि पनि मुलुकका शीर्ष नेताहरूले आत्मलोचना नगरेको भन्दै सामाजिक सञ्जालमार्फत् कडा टिप्पणी गरेकी छन् ।
फेसबुकमा स्टाटस लेख्दै उनले आन्दोलनमा जनताले भोगेको पीडा र युवाहरूको बलिदानप्रति नेताहरू संवेदनशील नदेखिएको आरोप लगाइन् । श्रेष्ठका अनुसार नेताहरूले आन्दोलनको वास्तविक कारणबारे गम्भीर समीक्षा गर्नुको सट्टा गोली अरुले चलाएको वा आन्दोलनमा घुसपैठ भएको जस्ता बहाना बनाई मूल मुद्दाबाट ध्यान मोड्ने प्रयास गरिरहेका छन् ।
उनले सेप्टेम्बर ८ मा युवाहरू किन ठूलो संख्यामा सडकमा निस्किए भन्ने प्रश्न उठाउँदै मन्त्री र तिनका सहयोगीहरूको “क्षुद्र वचनले आन्दोलनलाई अझै भड्काएको” आरोप लगाइन् ।
श्रेष्ठले कतिपय नेताले जेनजीलाई ‘आतङ्ककारी’सम्म भनेको उल्लेख गर्दै अझै पनि आत्ममन्थन गर्न तयार नभएको टिप्पणी गरिन् । उनले भनिन्, “युवाहरूको ज्यान गयो, विध्वंश भयो, मान्छेहरूले घर र व्यवसाय घेरिहाले, तर अझै पनि नेताहरूमा चेत खुलेको छैन ।”
आगामी चुनावतर्फ इङ्गित गर्दै श्रेष्ठले मत विभाजन नगर्न जेनजीहरूलाई आग्रहसमेत गरेकी छन् । उनले लेखेकी छन्, “परिवर्तन चाहनेहरूको मत फेरि बर्बाद नहोस्, यसपटक मत वृष्टि थाप्ने भाँडो एउटै बन्नुपर्छ ।”