बुटवल।विजयादशमी, तिहार र छठजस्ता ठूला चाडपर्वमा सार्वजनिक सवारीसाधन प्रयोग गर्ने यात्रुहरूलाई सहजता दिलाउन बुटवल बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।
सोमबार गरिएको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै सहायता कक्ष सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार पर्वमा यात्रु संख्या अत्यधिक हुने भएकाले दुर्घटना न्यूनीकरण र यात्रुहरूको समस्या समाधानका लागि प्रहरीको सतर्कता बढाइनेछ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले यात्रा गर्ने क्रममा कुनै समस्या देखिएमा यात्रुले सहायता कक्ष वा प्रहरी प्रशासनसँग सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिए।
यता पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले चाडपर्वमा यात्रुहरूलाई सवारी साधन अभाव नहोस् भनी व्यवसायीहरूले तयारी मिलाएको बताए। उनले एकतर्फी यात्रु चाप हुने भएकाले व्यवसायी र यात्रु दुवैले सहकार्य गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी प्रहरी वरिष्ठ नायक निरीक्षक मञ्जु रानाले यात्रु सहजताको लागि प्रहरी, व्यवसायी र सरोकारवालाबीचको समन्वय नै प्रमुख उपाय भएको बताइन्।
कार्यक्रमका क्रममा यातायात व्यवसायी तथा प्रहरीले सवारी चालकलाई सचेतना सन्देशसहित पुष्पगुच्छा प्रदान गरेका थिए। साथै चाडपर्वमा यात्रुवाहक सवारी साधनलाई थप सहज बनाउन यस वर्ष समयतालिका हटाइएको पनि जानकारी दिइएको छ।