कारागारबाट भागेका कैदी : श्रीमतीको हत्यालगत्तै कारागाार नै फर्किए

by समतल अनलाइन
117Shares

काभ्रे ।श्रीमतीको हत्या गरेर फरार भएका सन्तबहादुर तामाङ कारागार नै फर्किएको खुलेको छ। पनौती नगरपालिका-१२ तामाङले २०८० असोज ३ गते बिहान श्रीमती मनीषा तामाङको हत्या गरेका थिए । हत्या पश्चात् तामाङ सिधै नक्खु कारागार फर्किएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ।

गत भदौ महिनामा ‘जेनजी’ प्रदर्शनको दौरान नक्खु कारागार तोडफोड र आगजनी गरिँदा तामाङ जेलबाट फरार भएका थिए । तामाङ तीन वर्षअघि बलात्कारको आरोपमा दोषी ठहर भई कारागारमा थुनिएका थिए । जेलबाट भागेर घर पुगेका तामाङले श्रीमती मनीषालाई हत्या गरेका हुन् ।

पनौतीका वडाध्यक्ष जयराम केसीका अनुसार श्रीमती मनीषासँगको आन्तरिक विवादका कारण तामाङले हत्या गरेको आशंका गरिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिँदै भने, ‘हत्या गरेकै दिन तामाङ नक्खु कारागार फर्किएको पाइएको छ।’

प्रहरीले तामाङलाई कारागार फर्किएपछि काभ्रे प्रहरीको टोली नक्खु कारागार पुगेको छ। उनीमाथि अहिले कर्तव्य ज्यानको मुद्दामा थप अनुसन्धान गर्न थालिएको छ । तामाङको १२ वर्षीय छोरा र ३ वर्षीय छोरी छन्।

You may also like