बुटवलमा प्रथम जी–२५ सेभेन साइड भेट्रान्स कप फुटबल हुने

by समतल अनलाइन
48Shares

बुटवल । बुटवल–११ मा रहेको जी ट्वाइन्टी फाइभ क्लबले वडा स्तरीय प्रथम जी–२५ सेभेन साइड भेट्रान्स कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विजयादशमी तथा तिहारको अवसर पारेर असोज ७ गतेदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबले जनाएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित देविनगरस्थित एन्फा खेलमैदानमा हुने प्रतियोगितामा नगरका १४ वटा वडा टोली सहभागी हुनेछन् । उद्घाटन खेल वडा नम्बर ८ र वडा नम्बर ११ बीच हुने जनाइएको छ ।

क्लबका अध्यक्ष जगदीश न्यौपानेले प्रतियोगिता गर्ने उद्देश्यबारे स्पष्ट पार्दै भने,नगरभित्र रहेका भेट्रान्स खेलाडीलाई पुनर्ताजगी गराउने, आपसी मेलमिलाप बढाउने र खेलप्रति अझै आकर्षण जगाउने हाम्रो उद्देश्य हो । दशैँ र तिहारजस्ता ठूलो पर्वमा खेलकुदमार्फत खुसी बाँड्ने सोचका साथ प्रतियोगिता गर्न लागिएको हो ।

खेल संयोजक रमेशकुमार जोशीले प्रतियोगिताको कार्यक्रमबारे जानकारी दिदैँ भने, पहिलो र दोस्रो दिन, अर्थात् असोज ७ र ८ गते पाँच–पाँच खेल हुनेछ । अन्तिमसम्म प्रतिस्पर्धात्मक खेल हुनेछ भन्नेमा हामी विश्वस्त छौं । विजेता टोलीले नगद ५५ हजार ५५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार ५५५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ ।

उनका अनुसार, उत्कृष्ट स्कोरर, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई जनही पाँच–पाँच हजार रुपैयाँ नगदसहित ट्रफीबाट सम्मान गरिनेछ ।

प्रतियोगिता सञ्चालनमा करिब आठ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सचिव रेसम महराले जानकारी दिए । उनले भने, यो प्रतियोगिता भव्य बनाउन हामीले प्रायोजन, स्थानीय सहयोग र आफ्नै स्रोतमार्फत व्यवस्था गर्ने प्रयास गरिरहेका छौं । हाम्रो उद्देश्य प्रतियोगितालाई सफल मात्र होइन, उदाहरणीय बनाउनुपर्ने हो ।

यसैबीच, क्लबका निवर्तमान अध्यक्ष निर्मल नेपालले क्लब सामाजिक कार्यमै पनि सक्रिय रहेको उल्लेख गरे । उनले भने, हाम्रो क्लब खेलकुदमा मात्र सीमित छैन, सामाजिक अभियानमा पनि अग्रसर छ । भेट्रान्स खेलाडीलाई प्रोत्साहन गर्दै नयाँ पुस्तालाई पनि खेलकुदतर्फ आकर्षित गर्ने सोच छ । खेलकुदमार्फत समाजमा सकारात्मक सन्देश फैलाउने र एकताको वातावरण बनाउन प्रतियोगिता उपयोगी हुनेमा हामी ढुक्क छौं ।

You may also like

This will close in 0 seconds