बिहिबार नकरात्मक शर्किट लागेको शेयर आइतबार १११ अङ्कले बढ्यो

by समतल अनलाइन
49Shares

काठमाडौँ । गत बिहिबार १६० दशमलव ३३ अङ्कले घट्दै नकारात्मक शर्किट लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार १११ दशमलव ७० अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक चार दशमलव ४४ प्रतिशतले बढेको हो ।

आज ३२९ कम्पनीको दुई करोड ३२ हजार २२४ कित्ता शेयर एक लाख आठ हजार ९०८ पटक खरिदबिक्री हुँदा नौ अर्ब १७ करोड ९५ लाख ७३ हजार बराबरको कारोबार भएको छ । आज म्युचुअल फण्ड शून्य दशमलव ७१ र निर्जीवन बिमा चार दशमलव शून्य दुई प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी व्यापार समूह आठ दशमलव ६६ प्रतिशतले बढेको छ । बैंकिङ चार दशमलव ५२, विकास बैंक छ दशमलव शून्य सात, वित्त पाँच दशमलव ५४, होटल तथा पर्यटन दुई दशमलव ३३, जलविद्युत् पाँच दशमलव ८३, लगानी सात दशमलव ६८, उत्पादन तथा प्रशोधन चार दशमलव ८५, लघुवित्त तीन दशमलव ६९ र अन्य समूह एक दशमलव ५३ प्रतिशतले बढेको छ । आजको कारोबारमा १३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य सात दशमलव ६४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ८३ करोड १३ लाख ५५ हजार ९१० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा कुमारी बैंक लिमिटेडको नौ लाख १४ हजार ३६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

बिहीबार शेयर बजारमा नकारात्मक सर्किट लागेपछि अर्थमन्त्री रामेश्वर खनालले पुँजी बजारको सुधारको लागि भन्दै शुक्रबार कार्यदल गठन गरेका थिए । कार्यदलको संयोजकमा धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसी छन् भने नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल कार्यदलको सदस्य छन् । साथै अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई सदस्यसचिव छन् ।

You may also like

This will close in 0 seconds