हमासको बिदाइ पोस्टरमा नेपाली विपीन जोशी पनि

by समतल अनलाइन
44Shares

प्यालेस्टिनी सशस्त्र समूह हमासको सशस्त्र शाखा कसम ब्रिगेडले गाजामा अझै पनि बन्धक बनाइएका ४७ जनाको तस्बिरसहितको ‘बिदाइ पोस्टर’ सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको तस्बिरमा नेपाली विद्यार्थी विपीन जोशीको अनुहार पनि समावेश छ।

इजरायली सेनाले गाजा सहरमा आफ्नो सैन्य कारबाही तीव्र बनाइरहेको बेला शनिबार हमासले उक्त पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा जीवित वा मृत सबै बन्धकहरूको अनुहार देखाइएको छ। तर, प्रत्येक बन्धकको तस्बिरमुनि सन् १९८६ मा लेबनानबाट बेपत्ता भएका इजरायली वायुसेनाका पाइलट रोन अरादको नाम लेखिएको छ।

अरादको अवस्था आजसम्म अज्ञात छ र उनलाई मृत मानिन्छ। यसैलाई आधार मानेर हमासले चेतावनीस्वरूप बन्धकहरूको पनि भविष्य त्यस्तै रहस्यमय र दुःखद हुन सक्ने सन्देश दिन खोजेको देखिन्छ। पोस्टरमा लेखिएको छ– “नेतान्याहुको अस्वीकार र जमिरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु हुँदाको एक बिदाइ तस्बिर।” यसले बन्धकहरूको सम्भावित क्षतिको दोष इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र सैन्य प्रमुख इयाल जमिरमाथि थोपर्न खोजिएको बुझिन्छ।

### नेपाली विद्यार्थी विपीन जोशीबारे झिनो आशा

कृषि पढ्नका लागि इजरायल पुगेका विपीन जोशीलाई हमासले सन् २०२३ अक्टोबर ७ मा अन्य विदेशी नागरिकसँगै अपहरण गरी गाजामा लगेको थियो। त्यसयता उनको अवस्थाबारे कुनै विश्वसनीय जानकारी बाहिर आएको थिएन। तर, यस पटक सार्वजनिक गरिएको पोस्टरमा उनको अनुहार देखिनुले उनी हालसम्म जीवितै हुनसक्ने एक झिनो आशा जागेको छ।

यद्यपि, हमासको चेतावनीले उनको सुरक्षामाथि अझै गम्भीर प्रश्न उठाएको छ। नेपाल सरकारले विपीनसहितका नेपाली बन्धकहरूको सुरक्षित रिहाइका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको भए पनि हालसम्म ठोस प्रगति देखिएको छैन।

### इजरायलभित्र बढ्दो दबाब

इजरायलमा भने बन्धकहरूको रिहाइ माग गर्दै देशव्यापी प्रदर्शनको तयारी भइरहेको छ। बन्धक परिवारहरूले निरन्तरको युद्धले आफ्ना प्रियजनको जीवन खतरामा परेको भन्दै सरकारविरुद्ध विरोध गर्दै आएका छन्। दसौं हजार मानिसले सडकमा उत्रिन लागेका छन्।

इजरायली तथ्यांकअनुसार, अक्टोबर ७ मा २५१ जनालाई बन्धक बनाइएको थियो। तीमध्ये हाल ४७ जना अझै हमासको कब्जामा रहेको र २५ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ। करिब २० जना मात्र जीवित रहेको विश्वास गरिन्छ। हमासले भने बारम्बार इजरायली हवाई आक्रमण र स्थलगत कारबाहीले बन्धकहरूको जीवन संकटमा पर्ने चेतावनी दिँदै आएको छ।

विपीन जोशीको तस्बिर सार्वजनिक हुनु नेपाल र उनका परिवारका लागि आशाको संकेत बने पनि गाजामा तीव्र भइरहेको युद्धबीच उनको जीवन अझै असुरक्षित बनेको छ।

You may also like

This will close in 0 seconds