दशैँ अवधिभर नागढुंगा-सिस्नेरी सुरुङ्गमार्गबाट यात्रुवाहक गाडीहरू बाहिरिन पाउने

by समतल अनलाइन
60Shares

काठमाडौँ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाडलक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा शनिबार सरोकारवालासँग छलफल गरेका छन् ।

छलफलको क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दशैँ अवधिमा काठमाडौँ बाहिर जाने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा-सिस्नेरी सुरूङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । शनिबार दिउँसो मन्त्रालयमा भएको छलफलपछि मन्त्री घिसिङले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारीसाधनहरूमध्ये सार्वजनिक सवारीसाधनहरू नागढुङ्गा–सिस्नेरी–सुरुङ मार्गबाट बाहिर जाने व्यवस्था मिलाउने र दसैँपछि त्यस्ता सवारीसाधनहरू प्रवेशसमेत गर्न पाउने व्यवस्था मिलाउन छलफल भएको घिसिङको सचिवालयले जनाएको छ ।

निर्णयमा भनिएको छ, ‘काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारी साधनहरूमध्ये यात्रुवाहक सार्वजनिक सवारी साधनहरू सो सुरुङ्गमार्गबाट बाहिर जाने र दशैंपछि माथि उल्लिखित सवारी साधनहरू प्रवेश गर्न गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने।’

मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग शनिबार छलफल गरेका थिए ।

You may also like

This will close in 0 seconds