बुटवल । १० औं संविधान दिवस–२०८२ को अवसरमा बुटवल देविनगरस्थित चैतन्य एकेडेमीले शुक्रबार अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता एकेडेमी बुटवल शाखा प्रमुख दिपक ढकालले गर्नुभयो। प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका सह–सचिव सन्तोष आचार्य रहनुभएको कार्यक्रममा मानव अधिकार आयोगका अधिकृत सागर पोखरेल र सुरक्षित नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्बासे विशेष अतिथि रहनुभएको थियो।
सह–सचिव आचार्यले संविधानलाई केवल कागजमा लेखिएका शब्द नभई नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्धित दस्तावेजको रूपमा लिनुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, समानता र अभिव्यक्ति स्वतन्त्रताजस्ता मौलिक अधिकार संविधानले सुनिश्चित गरेको भए पनि व्यवहारमै कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो।
विद्यार्थीसँगको अन्तरक्रियामा उहाँले संविधानको अध्ययनले लोकसेवा परीक्षामै मात्र सफलताका लागि नभई जीवनभर नागरिक चेतना जगाउने भूमिका खेल्ने उल्लेख गर्नुभयो। “लोकसेवा पास गरेर जागिर खानु मात्रै सफलताको मापदण्ड होइन, संविधान बुझ्ने, प्रयोग गर्ने र समाजलाई मार्गदर्शन गर्ने क्षमता नै वास्तविक सफलता हो,” आचार्यले भन्नुभयो। उहाँले भ्रष्टाचार नियन्त्रण, सुशासन र उत्तरदायित्वलाई संविधानको मूल आधार भन्दै विद्यार्थीलाई सचेत र जिम्मेवार बन्न आह्वान गर्नुभयो।
चैतन्य एकेडेमी शाखा प्रमुख ढकालले पनि संविधान बुझ्ने र प्रयोग गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई सचेत नागरिक बनाउन टेवा पुग्ने बताउनुभयो। उहाँले कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रम सञ्चालन शेषकान्त अर्यालले गर्नुभएको हो ।
यस अवसरमा लोकसेवा आयोगमा नाम निकाल्न सफल विद्यार्थी वसन्त गिरीलाई विशेष सम्मान गरिएको थियो। हाल गिरी भैरहवास्थित यातायात व्यवस्था कार्यालयमा प्रशासन सहायक चौथो तहमा कार्यरत छन्। चैतन्य एकेडेमीका अन्य दुई विद्यार्थी यसअघि नै लोकसेवा सेवामा प्रवेश गरिसकेका छन्।
कार्यक्रम विशेषगरी लोकसेवा तयारी गर्ने विद्यार्थीलाई लक्षित गरिएको थियो। सहभागी विद्यार्थीहरूले संविधानसँग सम्बन्धित प्रश्न राख्दा वक्ताहरूसँग प्रत्यक्ष संवाद भएको थियो। उनीहरूले संविधान संवादजस्ता कार्यक्रमले परीक्षामा मात्र नभई व्यवहारिक जीवनमा पनि सचेत र जिम्मेवार नागरिक बन्ने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।