बुटवल । रुपन्देहीको भैरहवामा खोलामा पौडी खेल्ने क्रममा बिहीबार एक जना बालक डुबेर मृत्यु भएका छन् । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–५ बस्ने १५ वर्षीय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ । बालक बिहीबार सिद्धार्थनगर नगरपालिका–९ गोनहियामा रहेको ड्याममा पौडी खेल्न गएका थिए र करिब साढे ३ बजे डुबेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार सोही दिन अबेर खबर पुगेकाले उद्धार तथा खोजी कार्य तत्काल सम्भव भएको थिएन। त्यसैले शुक्रबार बिहानैदेखि खोजी सुरु गरिएको थियो ।
प्रारम्भमा वडा प्रहरी कार्यालय भैरहवा र स्थानीयहरूको संयुक्त टोलीले खोजी गरे पनि बालक भेटिएका थिएनन् । पछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय २७ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक खड्क केसीको नेतृत्वमा खटिएको १० जनाको विपद् व्यवस्थापन टोलीले बालकलाई खोलाबाट मृत अवस्थामा फेला पारेको थियो ।
मृतक बालकको शव पोस्टमार्टमका लागि भैरहवाको भीम अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।