काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जी आन्दोलनका दुई दिनमा देशले अकल्पनीय मानवीय तथा भौतिक क्षति व्यहोरेको उल्लेख गर्दै प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन् ।
संविधान दिवस–२०८२ को अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको अन्तरिम सरकार आम सहमतिका आधारमा बनेको स्पष्ट पारे ।
उनले भने, “प्रतिनिधिसभाबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय नभएकोले आम सहमतिबाट यो कदम चालिएको कुरा सबैले बुझौँ । छ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै जागौं ।”
राष्ट्रपति पौडेलले मुलुक फेरि नयाँ सपनासहित परिवर्तनको नवमार्गमा प्रवेश गरेको उल्लेख गर्दै नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै आगामी बाटो तय गर्ने विश्वास व्यक्त गरे ।
उनले जेन–जी आन्दोलनको क्रममा राष्ट्रले भोगेको क्षतिको पुनर्निर्माण अहिलेको मुख्य कार्यभार रहेको बताए । साथै राजनीतिक दल, शासन तथा व्यवस्थापनमा संलग्न निकाय र बौद्धिक समुदायलाई असहमति वा द्वन्द्वमा नफसी पूर्वाग्रह रहित समन्वय र सहकार्यका साथ निर्वाचनलाई सफल बनाउन सक्रिय हुन आह्वान गरे ।
राष्ट्रपति पौडेलका अनुसार अहिलेको अन्तरिम सरकारको प्रमुख जिम्मेवारी छ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नु हो ।