जोर्नी प्रत्यारोपण : दुखाईबाट मुक्ति पाउने आधुनिक उपाय

by समतल अनलाइन
128Shares

मानव शरीरलाई सक्रिय र गतिशील बनाउन जोर्नीको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। विशेषगरी भारवहन गर्ने घुँडा र हिप जस्ता जोर्नी बिग्रिएपछि सामान्य कामकाजदेखि हिँडडुलसम्म असहज हुन्छ। लगातार दुखाइले जीवनस्तर खस्काउँछ र धेरैलाई असहाय पनि बनाउँछ।

जोर्नी बिग्रने कारण

अस्थिसन्धिवात (Osteoarthritis), रुमाटोइड आर्थ्राइटिस (Rheumatoid Arthritis), पुराना चोटपटक वा जन्मजात समस्यालाई जोर्नी बिग्रने प्रमुख कारण मानिन्छ। सुरुमा औषधि वा अन्य उपचारले केही समय राहत मिल्न सक्छ, तर कर्टिलेज एक पटक नष्ट भएपछि अहिलेसम्म कुनै औषधिले पुरानै अवस्थामा फर्काउन सक्दैन। यही अवस्थामा दीर्घकालीन समाधानका रूपमा प्रयोग हुने उपाय हो— जोर्नी प्रत्यारोपण (Joint Replacement Surgery)।

जोर्नी प्रत्यारोपण के हो ?

यस शल्यक्रियामा बिग्रेको वा चल्न नसक्ने जोर्नीलाई हटाएर धातु, प्लास्टिक वा सिरामिकबाट बनेको कृत्रिम जोर्नी राखिन्छ। आधुनिक जोर्नी प्रत्यारोपणको सफल विकास सन् १९६० को दशकमा ब्रिटिश सर्जन सर जॉन चर्नले गरेका थिए।

कुन जोर्नीमा बढी हुन्छ ?

हाल प्रचलित प्रत्यारोपणमा सबैभन्दा धेरै घुँडा र हिप जोर्नीमा हुन्छ। यद्यपि आवश्यकता अनुसार कुम, कुहिनो वा गोलीगाँठामा पनि प्रत्यारोपण गर्न सकिन्छ।

किन आवश्यक हुन्छ ?

•लामो समयदेखि असह्य दुखाइ भोगिरहेका बिरामीलाई राहत दिन
•औषधि, फिजियोथेरापी वा अन्य उपचारबाट सुधार नदेखिएको अवस्थामा
•दैनिक जीवन कष्टकर बनेको बेला
•जोर्नी कठोर वा विकृत भएर चलायमानता गुमेपछि

सम्भावित फाइदा

•दुखाइमा उल्लेखनीय कमी
•सामान्य जीवनशैलीमा फर्किने क्षमता
•पेनकिलर औषधिबाट छुटकारा
•आत्मविश्वास र गतिशीलता फिर्ता
•उचित रेखदेखमा १५–२० वर्षसम्म कृत्रिम जोर्नी टिक्ने

सम्भावित जोखिम

अन्य शल्यक्रियाजस्तै यसमा पनि केही चुनौती हुन्छन्

•घाउ वा भित्री भागमा संक्रमण
•रगत जम्ने समस्या (Deep Vein Thrombosis)
•जोर्नी खुकुलो हुने अवस्था (Aseptic loosening)
•रक्तनली वा स्नायुमा क्षति
•हड्डी भाँचिने समस्या

निश्चित समयपछि फेरि नयाँ जोर्नी प्रत्यारोपण गर्नुपर्ने सम्भावना

शल्यक्रियापछि ध्यान दिनुपर्ने कुरा

•नियमित फिजियोथेरापी गर्ने
•तौल नियन्त्रणमा राख्ने
•व्यक्तिगत स्वच्छतामा ध्यान दिने
•चिकित्सकसँग नियमित फलोअप गर्ने

निष्कर्ष

जोर्नी प्रत्यारोपण लामो समयदेखि दुखाइ वा अपांगताबाट पीडित हजारौं बिरामीका लागि वरदान साबित भएको छ। यसले नयाँ जीवन, आत्मविश्वास र सक्रियता दिन्छ। यद्यपि सम्भावित जोखिम र लागतलाई विचार गरेर मात्र योग्य चिकित्सकसँग सल्लाह लिएपछि गर्नुपर्ने यो प्रक्रिया जीवन परिवर्तन गर्ने प्रभावकारी उपचार बन्न सक्छ।

You may also like

This will close in 0 seconds