काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा सबै लोकतन्त्रवादी, गणतन्त्रवादी र परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औँल्याएका छन्।
शुक्रबार जारी शुभकामना सन्देशमा उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने बताउँदै संविधान र लोकतन्त्रको संरक्षणमार्फत राष्ट्रको स्वतन्त्रता जोगाउनु सबै नेपालीको साझा कर्तव्य भएको उल्लेख गरे।
दाहालले हालैको जेनजी आन्दोलनलाई पनि स्मरण गर्दै समयसँगै संविधानको निरन्तरतामा परिमार्जन र विस्तार आवश्यक भएको बताए। उनले देशव्यापी पुनर्निर्माणलाई उच्च प्राथमिकता दिनुपर्ने भन्दै सम्पूर्ण पार्टी पङ्क्ति र जनतालाई त्यसतर्फ जुट्न आह्वान गरे।
उनले भने, “जेनजी आन्दोलन लोकतन्त्र विरोधी होइन, बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीविरुद्धको आन्दोलन हो। भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन थियो, तर २४ भदौका घटनालाई एउटै कोणबाट हेर्न सकिँदैन।”
माओवादी केन्द्रले भदौ २३ र २४ गतेका घटनाको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको दाहालले स्पष्ट पारे।