संविधान जनताको ऐतिहासिक उपलब्धि हो : काँग्रेस सभापति देउवा

by समतल अनलाइन
35Shares

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानलाई नेपाली जनताले लामो सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनमार्फत हासिल गरेको ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

संविधान दिवस–२०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली काँग्रेसको नेतृत्वमा जनप्रतिनिधिबाट असोज ३, २०७२ मा पारित भई घोषणा भएको संविधान जनताको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको प्रतिफल भएको उल्लेख गरे।

देउवाले संविधान दिवसमा ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्र, मानव अधिकार र सामाजिक न्याय सुनिश्चित गरेको संविधानप्रति गर्व व्यक्त गरे। साथै उनले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने प्रेरणा संविधानले दिने विश्वास व्यक्त गरे।

उनका अनुसार संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै विशेष परिस्थितिमा उत्पन्न हुने राजनीतिक जटिलताको समाधान पनि संविधानकै दायराभित्र खोजिनुपर्छ। अन्यथा संविधान बाहिर गएर राजनीतिक स्थिरताको खोजी गर्दा झन् अस्थिरता बढ्ने चेतावनी उनले दिए।

“वर्तमान संविधानको सफलतासँगै मुलुकको समुन्नति सुनिश्चित गर्ने सङ्कल्प आज हामी सबैको साझा दायित्व हो,” देउवाको शुभकामना सन्देशमा उल्लेख छ।

You may also like