काठमाडौँ । पूर्व मिस नेपाल शृङ्खला खतिवडाले लामो मौनता तोड्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै जेनजी आन्दोलनसँग जोडिएका आरोपहरूमा आफूले भोग्नुपरेको अनुभव र वास्तविकता सार्वजनिक गरेकी छन्।
उनले टिकटकमा सुरु भएको ‘नेपोबेबी’ ट्रेन्डका क्रममा आफ्नो तस्बिर प्रयोग गरी आफूलाई करदाताको पैसाले विलासी जीवन बिताएको भन्दै आक्षेप लगाइएकोप्रति आपत्ति जनाउँदै सो आरोप आधारहीन रहेको बताएकी हुन्।
खतिवडाले आफू ‘सेल्फ मेड’ भएको दाबी गर्दै मिस नेपालपछि विभिन्न ब्रान्ड, कार्यक्रम र अन्तर्राष्ट्रिय अवसरहरूले दिएको कमाइबाट हार्भर्डमा पढ्न पुगेको जिकिर गरेकी छन्।
उनले ब्रान्ड एम्बेसेडर, विज्ञापन, र सार्वजनिक कार्यक्रममा सहभागिताबाट कर कटाई गरिएको ३ करोड १२ लाख रुपैयाँ आम्दानी भएको उल्लेख गर्दै सो रकमकै आधारमा हार्भर्ड विश्वविद्यालयको करिब डेढ करोड रुपैयाँ लागत पर्ने अध्ययन आफैले फन्ड गरेको बताइन्। साथै, बाबुको हैसियत वा करदाताको पैसाले आफ्नो पढाइ वा जीवनशैली प्रभावित नभएको प्रमाणित गर्न करारपत्र र विवरण सार्वजनिक गरेकी छन्।
जेनजी आन्दोलनले नयाँ सरकार र परिवर्तनको बाटो खोल्दा आफू ‘कोल्याटरल ड्यामेज’ बनेको स्वीकार गर्दै उनले भनेकी छन्, “यदि मेरो तस्बिरले आन्दोलनलाई अझै शक्तिशाली बनाउन मद्दत गरेको छ भने, त्यो पनि देशकै लागि योगदान हो।”
खतिवडाले बाबु मन्त्री नभएको समयमा हार्भर्ड प्रवेश पाएको स्पष्ट गर्दै भ्रष्टाचारसम्बन्धी आरोपसँग आफ्नो कुनै सम्बन्ध नरहेको प्रस्ट पारिन्। साथै, आफ्नो जीवन र उपलब्धिहरूलाई भ्रामक रूपमा चित्रण गरिएको भन्दै उनले अब इतिहासमा गलत धारणा नबसोस् भन्ने उद्देश्यले भिडियो सार्वजनिक गरेको बताइन्।
उनले कठिन समयमा आफूलाई सहयोग र साथ दिने समर्थकप्रति आभार प्रकट गर्दै आफ्नो सम्पूर्ण उपलब्धि मेहनत र क्षमताको परिणाम भएको दोहोर्याइन्। हालै भएको जेनजी आन्दोलनमा खतिवडा आन्दोलनकारीको निशानामा परेकी थिइन् । उनको आमाबाबुको घरमा तोडफोड भएको थियो भने उनका पति सम्भव सिरोहिया प्रबन्ध निर्देशक रहेको कान्तिपुर पब्लिकेसनमा पनि आजगनी र तोडफोड भएको थियो ।
यस्तो छ शृङ्खलाको भनाईको सम्पादित अंश
आज धेरै दिनको मौनता पछि म यो भिडियो बनाउँदै छु। यति लामो समय नबोल्नुका केही असाध्यै ठोस र मान्य कारणहरू छन्।
जेन(जी पुस्ताको आन्दोलन मूलतः एन्टि–करप्सन मुभमेन्टको रूपमा सामाजिक सञ्जालमार्फत सुरु भएको थियो। तपाईंहरूलाई थाहा नै छ, टिकटकमा “नेपो बेबीज” भनेर ठूलो ट्रेन्ड चलेको थियो। जहाँ नेताका छोराछोरीहरूले अत्यन्तै विलासी जीवन बिताइरहेको देखाउँदै “हाम्रो करदाताको पैसा खोइरु” भन्ने प्रश्न उठाइएको थियो। यो प्रश्न उठाउनु जनताको पूर्ण अधिकार र वैध आवाज हो। तर संयोगवश, म त्यो भिडियोको एक प्रमुख पात्र बन्न पुगेँ।
सुरुमा मलाई निकै दुःख लाग्यो—“म किन त्यहाँ परेँरु मेरो जीवन त खुला किताब जस्तै छ।” मिस नेपाल हुनुअघि मेरो जीवनमा कुनै विलासिता थिएन, साधारण जीवन बिताइरहेकी केटी थिएँ म। मैले पढेका स्कुल, लगाएका लुगा, जीवनशैली सबै अहिले पनि इन्स्टाग्राममा खुलेर छ। कुनै विशेष सुविधा या प्रिभिलेज्ड अपब्रिङिङ्ग भएको मलाई लाग्दैन। तर एक कुरा चाहिँ स्वीकार्छु—हामीसँग आफ्नै घर थियो। त्यसैले हेटौँडा वा काठमाडौंमा कहिल्यै भाडा तिर्ने तनाव भएन।
बाबा–आमाले पुर्ख्यौली सम्पत्ति बेचेर भए पनि मलाई र दाजुलाई राम्रो शिक्षा दिनुभयो। त्यसैले दुःख महसुस भएन, त्यो हिसाबले म वास्तवमै प्रिभिलेज्ड हुँ। तर भिडियोहरूमा देखाएझैं मेरो सफलता वा जीवनशैली करदाताको पैसाले चलाएको भन्ने कुरा भने पूर्ण रूपमा गलत थियो।
म आफैंलाई बचाउन तयार पनि थिएँ। तर मैले बुझ्दै गएँ—आन्दोलनको क्रममा नेताकी छोरी भनेर सबैले चिनेको पात्र म भएँ। मेरो तस्बिर राख्दा भिडियोहरूले अझ बढी मोमेन्टम पायो, अझ धेरै लाइक र कमेन्ट पायो, आन्दोलन अझै फैलियो। त्यसैले, यदि यस आन्दोलनलाई शक्तिशाली बनाउन मेरो तस्वीर प्रयोग हुनु नै थियो भने, र म कोल्याटरल ड्यामेज बन्नु पर्यो भने—“लेट इट बी।”
देश नयाँ दिशातर्फ अघि बढेको छ। नयाँ सरकार बनेको छ। अब जनताको आवाज चुनावमार्फत सदनमा पुगोस्, तपाईंहरूले मन पराएका नेताहरू विजयी होऊन्, देश अघि बढोस्—यही मेरो सबैभन्दा ठूलो इच्छा हो। व्यक्तिगत जीवन वा सामाजिक चरित्रभन्दा पनि देशको प्रगति धेरै ठूलो कुरा हो।
तर त्यो ट्रेन्ड यति फैलिएको थियो कि मसँग फाइटब्याक गर्ने शक्ति क्रमशः हराउँदै गइरहेको थियो। मेरो आँखा अगाडि मात्र पनि कम्तीमा १० हजार भिडियो देखेँ। त्यो अडियो–भिजुअल सामग्रीले मानिसहरूलाई निकै प्रभाव पार्यो। त्यसैले मेरो सम्पूर्ण जीवनको कथा दुई दिनको ट्रेन्डले बदल्दै थियो। मैले बारम्बार भनेकी छु “म सेल्फ–मेड पर्सन हुँ।” हार्वर्डसम्मको पढाइ पनि मैले आफ्नै कमाइबाट फन्ड गरेको हुँ।
मिस नेपाल भएपछि विभिन्न ब्रान्ड एम्बासडर, विज्ञापन, इभेन्ट ओपनिङ्ग र सार्वजनिक कार्यक्रममा सहभागिताबाट कर कटाएरै ३ करोड १२ लाख रुपैयाँ कमाएको प्रमाण छ। मैले ती सबै कन्ट्र्याक्ट स्क्यान सहित सार्वजनिक गरेकी छु। त्यसकै आधारमा मैले डेढ करोडभन्दा कम खर्च लाग्ने हार्वर्ड अध्ययन आफैं फन्ड गरेको हुँ।
हार्वर्डमा ट्युइशन १ लाख ६ हजार डलर थियो, जसमा ३० हजार डलर स्कलरसिप पाएँ। बाँकी ७६ हजार डलर ९करिब ९६–९७ लाख रुपैयाँ० मैले आफ्नै खाताबाट तिरेँ। लिभिङ एक्स्पेन्स पनि सामान्य स्तरको थियो। मेरो सम्पूर्ण खर्च करिब १।४–१।५ करोड मात्र भयो, जुन मेरो ब्रान्ड इनकमको तुलनामा धेरै कम हो।
म हार्वर्ड प्रवेश गर्दा मेरा बाबु मन्त्री नै हुनुहुन्नथ्यो। बाबु मन्त्री हुनु मेरो हार्वर्ड पुगिसकेपछि मात्र हो। त्यसैले “मन्त्री बाबु, करप्सन वा डोनेसनकै भरमा पढ्न गइन्” भन्ने हल्ला आधारहीन हो।
यो सबै कुरा मैले यसैले राखेँ—मेरा सन्ततिले भोलि “तिम्री आमा करप्ट थिइन्” भन्ने सुन्न नपरोस्। किनकि एकचोटि झुटो कुरा चिरेन भने त्यो पुस्तौँसम्म सत्यजस्तै फैलिँदो रहेछ।
अन्त्यमा, तपाईंहरू मध्ये जसले यत्रो ठूलो हेट वेभ बीच पनि मलाई सम्झिनुभयो, निजी सन्देशमार्फत “वी स्टिल बिलिभ इन यू” भन्नुभयो, म तपाईंहरूप्रति हृदयदेखि आभारी छु। तपाईंहरूको मायाले नै म यो भिडियो बनाउन सक्षम भएकी हुँ। headline