सेयर बजारमा दोस्रोपटक नकारात्मक सर्किट ब्रेक, पाँच प्रतिशतले घट्यो

by समतल अनलाइन
28Shares

काठमाडौं। सेयर बजारमा बिहीबार दोस्रोपटक नकारात्मक सर्किट ब्रेक लागेको छ। दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि ‘मार्केट हल्ट’ भएको छ।

कारोबार सुरु हुनासाथ ओरालोतिर लागेको बजार दुई मिनेटमा नै चार प्रतिशतले घटेर पहिलो सर्किट ब्रेक लागेको थियो। त्यसपछि २० मिनेट रोकिएर खुलेको बजार लगत्तै पाँच प्रतिशतले घटेर दोस्रो सर्किट ब्रेक लागेको हो।

सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतारचढावमा कारोबार स्थगन गर्ने प्रणाली ‘सर्किट ब्रेक’ हो।

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, त्यसपछि ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा ‘सर्किट ब्रेक’ लाग्ने व्यवस्था छ।

बिहीबार दोस्रो सर्किट ब्रेक लाग्दा १३३.६१ अंकले घटेर बजार २५३८.६३ बिन्दुमा झरेको छ। पछिल्लो आन्दोलन र राजनीतिक घटनाक्रमका कारण गएको साता मंगलबारयता बन्द रहेको सेयर कारोबार आज बिहीबारदेखि खुलेको हो।

You may also like