बुटवल उद्योग वाणिज्य संघद्वारा सरकारी कार्यालय र व्यवसायिक प्रतिष्ठानको अवलोकन

by समतल अनलाइन
40Shares

बुटवल ।बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जेन–जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएका सरकारी कार्यालय तथा निजी क्षेत्रका व्यवसायिक प्रतिष्ठानको स्थलगत अवलोकन गरेको छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्याललको नेतृत्वमा निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, सचिव प्रतिक पोखरेल, सहकोषाध्यक्ष धनकुमारी खनालसहित कार्यसमिति सदस्यहरु समेतको टोलीले बुटवल तथा आसपासका क्षेत्रमा तोडफोड तथा आगजनी गरिएका व्यवसायिक प्रतिस्ठानहरुमा स्थलगत अवलोकन गर्नुको साथै उद्योगी व्यवसायीहरुलाई सान्त्वना दिएको हो ।

सरकारी कार्यालयहरु तथा निजी व्यवसायिक प्रतिष्ठानहरुको स्थलगत अवलोकन पछि संघका अध्यक्ष हरिप्रसाद अर्यालले ठूलो लगानी भएका होटल तथा व्यवसायिक प्रतिष्ठानमा भएको क्षेतीले मनै विक्षिप्त भएको बताउनु भयो । उहाँले घटनाको बस्तुस्थिती हेर्दा जेन–जी समुहका युवा विद्यार्थीले गरेको आन्दोलनमा अराजक तत्वको घुसपैठ भएको प्रष्ट भएको बताउनु भयो । सरकारी कार्यालयहरु र व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिगत सम्पत्तिमा तोडफोड गर्नेहरुलाई पहिचान गरेर कारवाहीको दायरामा ल्याउनु पर्ने पनि उहाँले बताउनु भयो ।

अध्यक्ष अर्यालले तोडफोड तथा आगजनी गरिएका सरकारी कार्यालयहरु उद्योग तथा व्यवसायिक प्रतिष्ठानलाई आवश्यक सहयोगको लागि संघ तयार रहेको बताउँदै व्यवसायिक प्रतिष्ठानहरुको विमा दावी भुक्तानीमा आवश्यक प्रकृया पुरा गर्ने कुरामा सम्बन्धित सरकारी निकाय र सम्बन्धित विमा प्रदायक संस्थाले पनि विलम्ब नगरिकनै विमा भुक्तानी गरिदिन आग्रह गर्नुभयो ।

सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचार र वेथितीको विरोमा जेन–जी समुहका युवा विद्यार्थीले यहि भदौको २३ र २४ गते प्रदर्शन गरेका थिए । यो प्रदर्शनका क्रममा सरकारी कार्यालयदेखि निजी क्षेत्रका व्यवसायिक प्रतिष्ठान र नेताहरुको व्यक्तिगत घरमा समेत तोडफोड र आगजनी भएको थियो ।
संघको टोलीले उक्त प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएको बुटवल उपमहानगरपालिका, बुटवलको सुख्खानगर रहेको भाटभटेनी सुपरमार्केट, मिलनचोकमा रहेको ड्रिम इन्टरनेशनल होटल, तिलोत्तमाको ड्राईरभरटोलमा रहेको होटल टुलिप, मणिग्राममा रहेको होटल ड्रिमल्याण्ड लगायतका व्यवसायिक प्रतिष्ठानहरुमा स्थलगत अवलोकन गरिएको कार्यसमिति सदस्य कृष्ण पाण्डेले जानकारी दिनुभयो । जेन–जीले गरेको प्रदर्शनका क्रममा निजीक्षेत्रबाट सञ्चालन गरिएको बुटवलका भाटभटेनी सुपरमार्केटमा तोडफोड तथा लुटपाट भएको थियो । त्यस्तै मिलनचोकमा रहेको होटल ड्रिम ईन्टरजेशनल तथा तिलोत्तमाको ड्राईभरटोलमा रहेको होटल टुलिप र मणिग्राममा रहेको होटल ड्रिमल्याण्डमा आगजनी गरिएको थियो ।

त्यसैगरी बुटवल उपमहानगरपालिका सहित वडा नं. ४, वडा नं. १३ को कार्यालय, तिलोत्तमा नगरपालिकाको कार्यालय, वडा नं. ५, आन्तरिक राजश्व कार्यालय बुटवल, इलाका प्रशासन कार्यालय बुटवल, लुम्बिनी प्रदेश बन निर्देशनालय, यातायात कार्यालय लगायतका सरकारी कार्यालयहरुमा तोडफोड सहित आजगनी भएको थियो । त्यस्तै गरी यस आसपासमा नेताहरुको घरमा समेत तोडफोड तथा आगजनी भएको छ । पूर्वगृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाण, प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरेको घर, लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मुख्यमन्त्री लिला गिरी, नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठको घरमा तोडफोड तथा आगजनी भएको छ ।

You may also like