नेपालको परिर्वतनले उत्साही नरेन्द्र मोदी, मणिपुरबाट गरे लामो टिप्पणी

by समतल अनलाइन
51Shares

काठमाडौं । नेपालको परिवर्तनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकै उत्साही देखिएका छन् । शनिबार मणिपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले नेपालको उदाहरणसहित लामो टिप्पणी गरे । शुक्रबार सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्न साथ बधाई र शुभकामना दिएका मोदीले शनिबार पनि लामो टिप्पणी गरेर उत्साही बन्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उनले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा राखिएको भिडिओमा भनेका छन्, ‘आज म मणिपुरको यो भूमिबाट नेपालका मेरा साथीहरूसँग पनि कुरा गर्नेछु। हिमालको काखमा बसेको नेपाल भारतको एक मित्र हो। नजिकको साथी हो। हामी साझा इतिहाससँग, आस्थासँग जोडिएका छौं। सँगै मिलेर अगाडि बढिरहेका छौं।’

मोदीले पहिलो महिला प्रधानमन्त्रीको कार्कीको आगमन महिला सशक्तिकरणको एक उत्कृष्ट उदाहरण भएको पनि बताए । उनले भने, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएकोमा म आज १४० करोड भारतवासीहरूको तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई व्यक्त गर्दछु। वहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ। नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तिकरणको एक उत्कृष्ट उदाहरण हो। म आज नेपालको प्रत्येक व्यक्तिको प्रशंसा गर्दछु जसले यस्तो अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राख्यो।’

उनले नेपालमा भएको अर्को एक घटनामा धेरै मानिसको ध्यान नगएकाले यसबारे आफूलाई सुनाउने पनि बताए। आन्दोलनपछि नेपालका विभिन्न ठाउँका मानिसहरूले सडक सफाइ गरिरहेको भन्दै उनले यो काम प्रेरणादायी भएको बताए।

उनले भने, ‘साथीहरू, नेपालमा भएको घटनाक्रममा अर्को एक विशेष कुरा छ जसमा मानिसहरूले ध्यान दिएका छैनन्। पछिल्ला दुई-तीन दिनदेखि, नेपालका युवा युवतीहरू धेरै कडा परिश्रम र शुद्धताको भावनाका साथ नेपालका सडकहरू सफा गर्दै र रंग लगाउँदै गरेको देखिन्छन्। मैले सोशल मीडियामा उनीहरूको तस्बिरहरू पनि देखेको छु। उनीहरूको यो सकारात्मक सोच, यो सकारात्मक काम प्रेरणादायी मात्र नभई नेपालको नवोदयको स्पष्ट संकेत पनि हो। म नेपालको उसको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु ।’

You may also like