ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

by समतल अनलाइन
49Shares

कपिलवस्तु।जेनजीको शान्तिपूर्ण आन्दोलनका क्रममा भाद्र २३ गतेको गोली प्रहारको घटनामा कारबाहीको माग गर्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध कपिलवस्तुका पूर्व सांसद तथा काँग्रेस नेता अभिषेक प्रताप शाहले कर्तव्य ज्यान मुद्दाको जाहेरी बुझाएका छन् ।

पूर्व सांसद शाहले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पुगेर प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ मार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी पेस गरेका हुन । शाहले पेस गरेको कर्तव्य ज्यान मुद्दाको जाहेरीमा भाद्र २३ गतेको शान्तिपूर्ण आन्दोलनमा पूर्व प्रम ओलीको मौखिक आदेशमा सुरक्षाकर्मीले गोली चलाउँदा निहत्था युवाको मृत्यु भएको विषय नामावली सहित उल्लेख छ ।

निहत्था युवा माथि गोली चलाउन आदेश दिई ज्यान मारिएकाले निज ओली लगायत अन्य को को व्यक्तिको संलग्नता रहेको बारे अनुसन्धान तहकिकात गराई अनुसन्धानबाट अपराधी देखिएका व्यक्तिलाई प्रतिवादी बनाई कारबाही र सजाय गर्न जाहेरीमा माग गरिएको छ ।

जाहेरी बुझ्दै प्रजिअ तामाङले घटनाको सत्य तथ्य छानबिन हुनु पर्ने पक्षमा सबै रहेको र नेपाल सरकारले सो सम्बन्धमा आवश्यक कारबाही अगाडी बढाउनेमा आफू विश्वस्त रहेको बताए । नयाँ सरकारको गठन सँगै सो विषयमा समेत सरकारले आवश्यक छानबिन गर्ने जनाउँदै उनले सो जाहेरी सम्बन्धित स्थानमा प्रेषित गर्ने प्रतिबद्धता जनाए ।

जेनजी युवाको शान्तिपूर्ण आन्दोलनका क्रममा गोली चलाउन आदेश दिने ओलीलाई सरकारले सो विषयमा आवश्यक अनुसन्धान र कारबाही गर्न सहजताका लागी आफूले जाहेरी दिएको शाहले स्पष्ट पारे ।

You may also like