बुटवल ।रुपन्देहीका विभिन्न सरकारी तथा निजी कार्यालयमा मंगलबार दिउँसो ‘जेनजी आन्दोलनकारी’ले आगजनी र तोडफोड गरेका छन् ।आन्दोलनकारीले बुटवल र भैरहवा क्षेत्रमा रहेका कार्यालय तथा संस्थालाई लक्षित गर्दै प्रदर्शनकारीले ठूलो मात्रामा क्षति पुर्याएका छन् ।
आगजनी र तोडफोडबाट जिल्ला सरकारी वकिलको कार्यालय, रुपन्देही जिल्ला अदालत, सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय बुटवल, आन्तरिक राजस्व कार्यालय बुटवलसहितका महत्वपूर्ण सरकारी कार्यालय प्रभावित भएका छन् ।
त्यस्तै, प्रदर्शनकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रवेश गरी तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ ।
जनप्रतिनिधिका निजी घरहरूसमेत आन्दोलनकारीको निशानामा परेका छन् । साथै, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का पार्टी कार्यालयमा समेत तोडफोड भएको छ ।
सरकारी तथा राजनीतिक संरचनामात्र होइन, निजी व्यवसायिक प्रतिष्ठानहरू पनि सुरक्षित रहेनन् । भाटभटेनी सुपरमार्केट, बोधी होटल रेडसन, मौर्य होटल, ड्रिमल्याण्ड रिसोर्ट, ड्रिम इन्टरनेशनल होटल र टुलिप होटलमा समेत तोडफोड गरिएको छ ।
प्रहरी प्रशासनले प्रदर्शनकारीलाई संयमित हुन आग्रह गर्दै शान्तिपूर्ण ढंगले माग राख्न आह्वान गरेको छ ।