नेविसंघले माग्यो प्रधानमन्त्रीको राजीनामा, लोकतन्त्रको हत्या गरेको आरोप

by समतल अनलाइन
65Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।

नेविसंघले मंगलबार विज्ञप्ति प्रकाशित गरी राज्यले जेनजी आन्दोलनमा बर्बर हिंसा गरेको भन्दै यसलाई लोकतन्त्रकै हत्याको संज्ञा दिएको छ ।

‘आन्दोलनरत निहत्था विद्यार्थीमाथिको बर्बर दमन, लोकतन्त्रको हत्या हो’, विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, बेथिति, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी हालसम्म बालबालिका र विद्यार्थीसमेत गरेर १९ जनाको ज्यान गएको र पत्रकारसहित कैयौँ घाइते भएको दुस्खद् खबरले स्तब्ध भएका छौँ। शान्ति–सुरक्षा कायम गर्ने बहानामा निहत्था युवा विद्यार्थीमाथि बख्तरबन्द हतियारधारी प्रहरीले गोली हानी हत्या गर्नुले सरकार रक्षकबाट भक्षकमा परिणत भएको सन्दर्भमा लोकतन्त्रको समेत हत्या भएको हाम्रो बुझाइ छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तसर्थ यस घटनाको पूर्ण जिम्मेवारी लिँदै मन्त्रिपरिषद्का अध्यक्ष प्रधानमन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन जोडदार माग गर्दछौँ। त्यसैगरी शान्तिपूर्ण तवरले सम्पन्न हुने भनिएको आजको प्रदर्शनमा घुसपैठ गर्ने, आन्दोलनलाई हिंसात्मक बनाउने, जोसुकैलाई कानुनको दायरामा ल्याउनसमेत जोडदार माग गर्दछौँ।’

यसैबीच संयुक्त विद्यार्थी संगठनले आज भदौ २४ गते ‘विद्यार्थीमैत्री शिक्षा ऐन’ जारी गर्न माइतीघर मण्डलामा गर्ने भनिएको शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम हाल स्थगन गरिएको नेविसंघले जनाएको छ ।

You may also like