बानेश्वरमा झडप अझै जारी

by समतल अनलाइन
58Shares

काठमाडौं। काठमाडौंको नयाँ बानेश्वर क्षेत्र सोमबार दिउँसोदेखि जारी प्रदर्शन र झडपका कारण अझै पनि तनावग्रस्त छ। प्रहरी र प्रदर्शनकारीबीचको द्वन्द्वले उग्र रूप लिँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ भने दुई सयभन्दा बढी घाइते भएका छन्।

स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि त्यसलाई तोड्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएर नाराबाजी गरिरहेका छन्। हाल बानेश्वर चोक र आसपासका क्षेत्रमा प्रदर्शनकारीहरूले टायर बालेर आगजनी गरिरहेका छन् भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन रबरको गोली र अश्रुग्यास प्रहार गरिरहेको छ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध ‘जेन जी’ पुस्ताले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शन प्रहरी दमनपछि हिंसात्मक बनेको हो।

दिउँसो प्रहरीको गोली लागेर प्रदर्शनकारीको मृत्यु भएपछि आक्रोशित भीडले संसद भवन लगायतका सरकारी संरचनामा तोडफोड र आगजनी गरेको थियो। यो क्षेत्र रणभूमिमा परिणत भएको छ।

अहिले पनि बानेश्वर क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रदर्शनकारीहरू तितरबितर भएर विभिन्न गल्लीहरूबाट निस्किँदै नाराबाजी र प्रदर्शन गरिरहेका छन्।

You may also like