काठमाडौँ ।‘जेन-जी’ पुस्ताको सोमबार हुने आन्दोलनलाई धेरै नेता तथा सेलिब्रेटीहरूले समर्थन गरेका छन् । सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि सोमबार जेन-जी पुस्ताले माइतिघरदेखि नयाँ बानेश्वसम्म प्रर्दशन गर्दैछन् ।
उनीहरूको प्रर्द्शनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समर्थन गरेका छन् । मेयर शाहले जेन–जी पुस्ताले भोलि देशभर गर्ने आन्दोलनमा आफ्नो भरपुर समर्थन रहेको बताएका छन् । उनले उमेर हदको कारण सो आन्दोलनमा आफू जान नमिले पनि आफूलाई जेन–जी पुस्ताको कुरा बुझ्न जरुरी रहेको र सो आन्दोलनमा भरपुर समर्थन रहेको बताएका हुन् ।
उज्यालो अभियान्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङले समर्थन जनाएका छन्। उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जेन-जीले निकाल्ने जुलुसमा ऐक्यवद्धता जनाएका हुन्।
त्यस्तै, निर्देशक निस्चल बस्नेतले ‘आफू जेन-जीको साथमा रहेको’ बताउँदै टिकटक भिडियो सार्वजनिक गरेका छन् । उनले सामाजिक संजाल बन्द गर्ने सरकारको कदमको विरोध गरेका छन् ।
निश्चलले देशको कानून निसहाय र गरिब जनताको लागि मात्र लागू भएको जनाएका छन् । जेन-जीको युवापुस्ता भ्रष्टाचारलाई लिएर निराश रहेको उल्लेख गर्दै आन्दोलन हुनु नै थियो भनेका छन् । आफू जेन-जी आन्दोलनमा सहभागी भएर भ्रष्टाचारविरुद्ध बोल्ने समेत निश्चलले बताएका छन् ।
यता, अभिनेता पल शाहले पनि अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक बन्द गर्ने निर्णयले स्थिती झन् गम्भीर बनाएको भन्दै जेन-जी आन्दोलनलाई समर्थन जनाएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले शान्तिपूर्ण प्रदर्शन गर्न जेन–जीहरूलाई आग्रह गरेका छन् ।
त्यस्तै अभिनेता अनमोल केसी, गायक प्रकाश सपूत, हलमा चलिरहेको चलचित्र मोहरका टिम लगायत थुप्रैले समर्थन गरेका छन् । मोहरका टिम र प्रकाश सपुतले खानेपानीको व्यवस्था गर्ने निकट स्रोतले जनाएको छ । अम्रित गुरुङको नेपथ्या ब्याण्ड, गायिका रचना रिमाल, एलिना चौहान र प्रफमर तथा गायक दुर्गेस थापा लगायत थुप्रै सेलिब्रेटीले समस्थन गरेका छन् ।
नातावाद, भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्धबिरुद्ध जेन-जीले घोषणा गरेको देशव्यापी आन्दोलनमा सत्तारूढसहित विपक्षी दलहरूले भने केही बोलेका छैनन् । रास्वपाका कतिपय नेताहरू यसको पक्षमा रहेको बताइए पनि खुलेर बोलेका छैनन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलनमा समर्थन रहेको बताएका छन् तर जेन-जीका नेतृत्वकर्ताहरूको फोनमा कुराकानी भएपछि उनी सहभागी नहुने स्रोतको भनाइ छ ।
जेन-जीले सोमबार राजधानीको माइतीघर मण्डलासहित देशका विभिन्न सहरमा शान्तिपूर्ण विरोधमा उत्रन आह्वान गरेको छ।