काठमाडौ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरू चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) जस्ता माध्यम प्रयोग नगर्न आम नागरिकलाई आग्रह गरेको छ।
मन्त्रालयले शनिबार एक औपचारिक विज्ञप्ति जारी गर्दै त्यस्ता माध्यमहरू असुरक्षित, अनाधिकृत र जोखिमयुक्त हुने भन्दै प्रयोग नगर्न र नगराउन अनुरोध गरेको हो।
सरकारले दर्ता नभएका फेसबुक, युट्युब, एक्स लगायतका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाएपछि धेरै प्रयोगकर्ताहरूले भीपीएनमार्फत ती साइटहरू चलाउने प्रयास गरिरहेका बेला सरकारको औपचारिक चेतावनी आएको हो।
‘नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायक मार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको छ,’ मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न/नगराउन समेत अनुरोध छ।’
मन्त्रालयले आफ्नो कदम सामाजिक सञ्जाललाई निषेध वा नियन्त्रण गर्ने नभई स्वनियमनको माध्यमबाट व्यवस्थित, मर्यादित र जवाफदेही बनाउनका लागि भएको दोहोर्याएको छ।
विज्ञप्तिमा सरकारको निर्णय सर्वोच्च अदालतको आदेश कार्यान्वयनकै लागि भएको र यसले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित नपार्ने स्पष्ट पारिएको छ।
यसैबीच, प्रतिबन्धपछि ‘हाम्रो पात्रो’ र ‘ग्लोबल डायरी’ ले सूचीकरण प्रक्रिया पूरा गरेसँगै शुक्रबारदेखि नै पुनः सञ्चालनमा आइसकेको मन्त्रालयले जनाएको छ।
साथै, ट्वीटर (एक्स) र वीच्याट पनि सूचीकरणको प्रक्रियामा रहेका छन्। मन्त्रालयले दर्ता प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने र दर्ता हुनासाथ तत्कालै प्लेटफर्म सक्रिय गराइने व्यवस्था रहेको भन्दै बाँकी सञ्जालहरूलाई पनि सूचीकरणमा आउन पुनः आह्वान गरेको छ।