नगेन्द्र केसी
शुद्धोदन। रुपन्देहीको शुद्धोदन गाउँपालिका–२, बनगाईमा अवस्थित “सिप सञ्चालन हाम्रो अभियान, आर्थिक क्रियाकलापमा सहभागी हुँदा बढ्छ आत्मसम्मान” मुल नाराका साथ खड्वा बनगाई सामुदायिक सिकाइ केन्द्रको १८औँ साधारण सभा शुक्रबार सम्पन्न भएको छ। सो कार्यक्रम सिकाइ केन्द्रको सभाहलमा आयोजित समारोहबीच सम्पन्न भएको हो।
साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष **उमाकान्त चापागाईं** ले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि **शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल** हुनुहुन्थ्यो। प्रमुख अतिथिले पानशमा दीप प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
साधारण सभामा अध्यक्ष उमाकान्त चापागाईंले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार गत वर्ष विभिन्न तालिममार्फत कुल २३७ जनाले सहभागीता जनाएका थिए। तालिममा समावेश कार्यक्रमहरूमा आधारभूत सिलाइ-काटाइ तालिम, आधारभूत ब्युटी पार्लर तालिम, आधारभूत डल तथा कुशन तालिम, एडभान्स डल तथा कुशन तालिम, एडभान्स सिलाइ-काटाइ तालिम, आधारभूत कम्प्युटर तालिम, र आजीवन सिकाइ समावेश छन्।
सिकाइ केन्द्रले शुद्धोदन गाउँपालिका वडानम्बर १ देखि ७ का युवा–युवतीहरू मात्र नभई बुटवल उपमहानगरपालिका वडा १६ (बैठौलिया, कपरकट्टी), नरैनपुर वडा १४ (बिनायकपुर), मनहरापुर सियारी गाउँपालिका, र सैनामैना नगरपालिकाका युवायुवतीलाई पनि तालिममा सहभागी गराएर स्थानिय स्तरमा लोकप्रियता पाएको छ।
उमाकान्त चापागाईंले तालिममा बढ्दो चाप र आर्थिक दबाबलाई ध्यानमा राख्दै आगामी वर्ष तालिम सञ्चालनको लागि थप बजेट आवश्यक रहेको र यसका लागि गाउँपालिका र सम्बन्धित निकायबाट सहयोगको अपेक्षा राखेको प्रतिवेदनमार्फत बताए।
कार्यक्रममा प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले खड्वा बनगाई सामुदायिक सिकाइ केन्द्रले शैक्षिक र सिपमूलक तालिममा उत्कृष्ट कार्य गर्दै आएको उल्लेख गर्दै थप सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले भविष्यमा पनि महिला, बालबालिकालाई शैक्षिक कार्यमा अगाडि बढाउन गाउँपालिका र वडा कार्यालयको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।
शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले यस संस्थाले लुम्बिनी प्रदेशमै उत्कृष्ट कार्य गरेको भन्दै गाउँपालिकाको नाम प्रतिष्ठित बनाएकोमा धन्यवाद व्यक्त गर्नुभयो। वडा अध्यक्ष **कमल खड्का क्षेत्रीले सिकाइ क्रम कहिल्यै नरोकिने बताउँदै अनौपचारिक शिक्षा तथा तालिम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बनगाई डाडाँ टोल विकास संस्थाका अध्यक्ष कमला खराल, नमुना टोल विकास संस्थाका अध्यक्ष खेमबहादुर गोदार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रमको स्वागत आजीवन सदस्य **भीमबहादुर राना** ले गर्नुभयो भने सञ्चालन आजीवन सदस्य नगेन्द्र ददुवा ले गर्नुभयो।
साधारण सभा सफलतापूर्वक सम्पन्न भएपछि, केन्द्रले आगामी वर्ष अझ व्यवस्थित तालिम सञ्चालन र बढी युवा–युवतीलाई सिपमूलक तालिममा सहभागी गराउने लक्ष्य राखेको जनाएको छ।




