बुटवल । नेपाली काँग्रेसका संस्थापक नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमनत्री बि.पी. कोइरालाको जन्मजयन्तिमा नेपाली काँग्रेस रुपन्देहीले खुल्ला म्याराथन प्रतियोगिता गर्ने भएको छ ।
नेपाली कांग्रेस रुपन्देहीको जिल्ला कार्यसमितिको बैठकले नेपाली काँग्रेसका संस्थापक नेता प्रथम जननिर्वाचित प्रधानमन्त्री बि.पी.को ११२ औं जन्मजयन्तिको अवसरमा खुल्ला म्याराथन (दौड) प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
जिल्ला सभापति रामकृष्ण खाँणको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले कार्यक्रम सम्पन्न गर्नको लागि कोषाध्यक्ष हरिप्रसाद अर्यालको संयोजकत्वमा उपसमिति समेत गठन गरिएको छ ।
काँग्रेसका संस्थापक नेता प्रथम जननिर्वाचित प्रधानमन्त्री बि.पी.को ११२ औं जन्मजयन्तिको अवसरमा यहि भदौ २४ गते जिल्ला सदरमुकाम भैरहवामा म्याराथन प्रपियोगिता गर्न लागिएको र उक्त प्रतियोगितामा करिव ५ सय जनाको सहभागिता हुनसक्ने कार्यक्रम संयोजक तथा कोषाध्यक्ष अर्यालले बताउनु भयो ।
भैरहवाको विमानस्थल चाेकदेखि बुद्धचाेकसम्म सञ्चालन गरिने म्याराथनमा प्रथम हुनेलाई मेडल सहित १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै द्वितीय हुनेलाई मेडल सहित ५ हजार रुपैंया, तृतीय हुनेलाई मेडल सहित ३ हजार रुपैंया र सान्त्वना हुने २ जनालाई मेडल सहित जनही १ हजार ५ सय रुपैंया नगद पुरस्कार प्रदान गरिने पनि संयोजक अर्यालले जानकारी गराउनु भयो । उक्त प्रतियोगितामा सहभागि हुनका लागि नेपाली काँग्रेस रुपन्देहीले सबैलाई आह्वान गरेको छ ।
बैठकमा पार्टीको संगठन सुदृढीकरण, स्थानीय तहमा सक्रियता बढाउने र आगामी गतिविधिहरु प्रभावकारी बनाउनका लागि समेत महत्वपूर्ण निर्णयहरु गरिएको सो पार्टीले जनाएको छ ।