बुटवलकी शान्ति दर्जीलाई क्यान्सर उपचारका लागि सहयोगको अपील

by समतल अनलाइन
74Shares

बुटवल । बुटवल १२ तामनगर सिस्नेटोल निवासी शान्ति दर्जी लामो समयदेखि क्यान्सर रोगले पीडित बनेकी छन् । बिगत ४ वर्षदेखि चितवनको भरतपुरस्थित बि.पी. कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईहेकी शान्ति दर्जीले चरम आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको बताएकी छन् । क्यान्सरका कारण थलिएर अशक्त अवस्थामा घरमा प्राय बिस्तारामा सुतिरहने अवस्थामा पुगेकी उनलाई खान पीउनसमेत समस्या भएको परिवारका सदस्यहरुले बताएका छन् ।

धेरै वर्षअघि टाउकोको पछाडि बाँयापट्टी घाँटीमा पलाएको सानो ट्यूमरले शुरुमा केही दुःख नदिएको तर पछि बढ्दै गएर निकै ठूलो भएको र दुःख्न थालेपछि उपचारका लागि बिभिन्न अस्पतालहरु पुगेको उनले बताईन् । ट्यूमरका कारण गम्भिर बिरामी भै बोल्न समेत कठिनाई हुँदै गएको र आवाज समेत बन्द हुन थालेको भन्दै संचारकर्मी समक्ष सहयोगको अपिल गरेकी छन् । सबै मिडिया र सामाजिक संजालमार्फत प्रचार प्रसार गरि सहयोग जुटाईदिन र जीवन बचाईदिन उनले आग्रह गरेकी छन् ।

दैनिक ज्यालादारी काम गर्दै आएका श्रीमान, दुई छोरा र दुई छोरीसहित परिवारको गुजारा चलाउदै आएकी ५२ वर्षीया शान्ति दर्जीले उपचारको क्रममा २८ लाख खर्च भैसकेको बताईन् । महिनामा २ पटकसम्म लगातार ३ वर्ष किमो चढाएको उल्लेख गर्दै उनका श्रीमान भिमबहादुर दर्जीले उपचारमा सबै सम्पत्ती सकिएको र चिकित्सकहरुका अनुसार अझै ५ देखि ६ लाखसम्म लाग्ने बताए । किमो चढाउदा प्रत्येक पटक ५० हजारसम्म खर्चहुने गरेको बताउँदै उनले श्रीमतीको उपचारका क्रममा जीवनभर दुःख गरेर जोडेको २ कठ्ठा १७ धुरको जग्गासमेत बेचेर सकिएको बताए ।

हुनत बुटवल १२ वडा कार्यालय, उपमहानगरपालिका, प्रदेश सरकार लगाएतका बिभिन्न निकाय र तहमा सहयोगको लागि धाँउदा केहि रकम उपलब्ध नभएको हैन तर आफ्नै आर्थिक अवस्था कमजोर भएका कारण धाँउन समेत कठिनाई भएको दर्जी बताउछन् । सबै सरकारी तथा गैरसरकारी निकाय र आम जनसमुदाय समक्ष सहयोगको अपिल गर्दै राष्ट्रिय बाणिज्य बैंक बुटवल शाखामा खाता खोलेको उनले जानकारी गराए । उनका अनुसार क्यान्सर पीडित श्रीमती शान्ति दर्जीको नाममा खाता नम्बर ३१२०१००२०८४८७०१० खाता रहेको छ ।

You may also like