बुटवल । संविधान दिवसको दिन अर्थात् आगामी असोज ३ गते बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने भएको छ। इभेन्ट इन बुटवलले बिएचएम (होटल म्यानेजमेन्ट) अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विशेष कार्यक्रम गर्न लागेको हो।
मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले तयारी तीव्र गतिमा भइरहेको जनाएका छन्। अहिले विभिन्न क्याम्पस भ्रमण गरी विद्यार्थीलाई कार्यक्रमबारे अवगत गराउने काम भइरहेको कार्यक्रम संयोजक अतीत थापाले जानकारी दिए।
उनका अनुसार कार्निवलमा बिएचएम अध्ययनरत विद्यार्थीहरूले आफ्नै परिकार प्रदर्शनी गर्न र बिक्री गर्न स्टल राख्न पाउनेछन्। यसका लागि कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ। “विद्यार्थीहरूले आफैं तयार गरेका विविध स्वादिष्ट परिकार चाख्न पाउने मौका सहभागीले पाउनेछन्,” संयोजक थापाले भने।
खाद्य परिकारसँगै कार्यक्रममा मनोरञ्जनात्मक पक्षलाई पनि जोड दिइएको छ। स्वर, रकेट्रस, चक्र र आमाथ्य जस्ता चर्चित कलाकारहरूले विशेष प्रस्तुति दिने भएकाले विद्यार्थी मात्र नभई अन्य सहभागीले पनि आकर्षक सांगीतिक माहोल अनुभव गर्नेछन्।
इभेन्ट इन बुटवलका फाउन्डर सुसान्त पाण्डेका अनुसार कार्यक्रममा प्रवेश शुल्क १,००० रुपैयाँ तोकिएको छ। तर विद्यार्थीका लागि भने ५० प्रतिशत छुटको विशेष व्यवस्था गरिएको छ। उनले यो कार्निवललाई विद्यार्थीलाई सिकाइसँगै रमाइलो गर्ने अवसरका रूपमा प्रस्तुत गर्न खोजिएको बताए। साथै चर्चित होष्ट र टिकटकर इभा गिरी कार्यक्रम सञ्चालन गर्नेछिन् ।
त्यस्तै, कार्यक्रम सञ्चालनका लागि करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। फाउन्डर पविन सेनका अनुसार यस किसिमका कार्यक्रमले विद्यार्थीलाई सिकाइसँगै व्यावहारिक अनुभव दिलाउने र उनीहरूको प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
कार्यक्रमबाट संकलित मुनाफा रकम विपन्न तथा गरिबहरुका लागि जाडोमा न्यानो कपडा सहयोग गर्ने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ ।