काठमाडौं । प्रधानमन्त्री केपी ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच सोमबार चीनको तियान्जिनमा द्विपक्षीय वार्ता भएको छ । सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन पुगेका दुई शीर्ष नेताबिच पहिलोपटक द्विपक्षीय वार्ता भएको हो ।
उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान तथा शैक्षिक, सांस्कृतिक, पर्यटकीय, सूचना प्रविधि, लगानीलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो।
प्रधानमन्त्री ओलीसँगै भ्रमण टोलीमा रहेका एक सरकारी अधिकारीका अनुसार, दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्न पनि प्रधानमन्त्री ओलीले प्रस्ताव राखेका थिए ।
भेटमा रुसी राष्ट्रपति पुटिनले सन् १९५६ मा दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापनायता कुनै पनि समस्या नभएको बताएका थिए । उनले आगामी वर्ष सम्बन्धको ७०औँ वर्षगाँठ रहेको उनले स्मरण गराए ।
भेटमा रुसमा मारिएका ७१ र बेपत्ता ३४९ नेपालीबारे भने कुरै उठेन । रुसी सेनामा भर्ती भएका ७१ जना नेपालीको रुस–युक्रेन युद्धमा मृत्यु पुष्टि भइसकेको छ ।
पुष्टि हुन बाँकी ४१ जनाका परिवारको डिएनए परीक्षण गरेर नेपालबाट रुसमा विवरण पठाइएको छ । यसबारे दुई शीर्ष नेताबिच छलफल हुने अपेक्षा थियो । दुवै पक्षले यसबारे छलफल भएको उल्लेख गरेको छैन ।
परराष्ट्रको कन्सुलर सेवा विभागका अनुसार हालसम्म ३४९ व्यक्तिका परिवारले रुसी सेनामा कार्यरत आफन्त खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् । थप ४० जना नेपाली बेपत्ता अवस्थामा छन् । उनीहरू सबै रुसी सेनामा भर्ती भएकाहरू हुन् ।