के हो सी चिनफिङले अघि सारेको नयाँ अवधारणा ‘जीजीआई’ ?

by समतल अनलाइन
61Shares

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङले शाङ्घाई सहयोग संगठन प्लस (एससीओ प्लस) को बैठकमा ‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ’ (जीजीआई) को प्रस्ताव राखेका छन् ।

सोमबार तियानजिन शहरमा आयोजित शाङ्घाई सहयोग संगठन प्लस (एससीओ प्लस) को बैठकमा राष्ट्रपति सीले जीजीआई प्रस्ताव गर्दै देशहरूलाई न्यायपूर्ण र समानतामूलक विश्व शासन प्रणाली निर्माणका लागि सहकार्य गर्न आह्वान गरेका छन्।

बैठकमालाई सम्बोधन गर्दै राष्ट्रपति सीले भने, ‘यो घडीमा म वैश्विक शासन पहल (ग्लोबल गभर्नेन्स इनिसिएटीभ–जीजीआई) को प्रस्ताव गर्न चाहन्छु । मानव जातिको साझा भविष्यका लागि न्यायपूर्ण र समान वैश्विक शासन प्रणाली निर्माण गर्न सबै देशसँग सहकार्य गर्न म आतुर छु ।’

यो राष्ट्रपति सीले अघि सारेका चौथो महत्वपूर्ण वैश्विक पहल हो। चीनले सीको नेतृत्वमा यसअघि नै तीन वटा पहल ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’ (जीडीआई), ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) र ‘ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ’ (जीसीआई) अघि बढाइएको छ ।

सीले जीजीआईका ५ आधारभूत सिद्धान्तहरूलाई जोड दिए। सार्वभौम समानताको प्रत्याभूति, अन्तर्राष्ट्रिय कानुनको पालना, बहुपक्षीयताको अभ्यास, जनकेन्द्रित दृष्टिकोणको प्रवर्द्धन र वास्तविक कार्यान्वयनमा केन्द्रित हुनु यसका सिद्धान्त भएको बताए।

यी हुन् ‘जीजीआई’ अवधारणा का ५ विशेषता

पहिलो, हामीले सार्वभौम समानताको सिद्धान्तमा दृढ रहनुपर्छ । देश ठूलो होस् वा सानो, शक्तिशाली होस् वा कमजोर, धनी होस् वा गरिब— सबैलाई विश्व शासनमा समान भागीदार, निर्णयकर्ता र लाभग्राहीका रूपमा मान्यता दिनुपर्छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा अझ बढी लोकतान्त्रिक अभ्यास गर्नुपर्छ र विकासोन्मुख मुलुकहरूको प्रतिनिधित्व र आवाज बढाउनुपर्छ ।

दोस्रो, हामीले अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको पूर्ण पालन गर्नुपर्छ । संयुक्त राष्ट्रसंघको चार्टर र अन्तर्राष्ट्रिय सम्बन्धका सर्वमान्य सिद्धान्त तथा मान्यताहरू सम्पूर्णरूपमा र निष्पक्ष रूपमा लागू हुनुपर्छ । कुनै पनि देशको ‘घरेलु नियम वा प्रावधान नियम’ अरूमा लाद्न पाइँदैन वा थोपर्न हुँदैन, यसमा दुईथरी मापदण्ड हुनु हुँदैन ।

तेस्रो, हामीले बहुपक्षीयतालाई दृढ रूपमा अंगिकार गर्नुपर्छ । व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभको दृष्टिकोणलाई कायम गर्दै एकपक्षीय प्रवृत्तिको विरोध गर्नुपर्छ । संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिका र अधिकारलाई दृढतापूर्वक जोगाउनुपर्छ ।

चौँथो, हामीले मानव–केन्द्रित दृष्टिकोणकै पैरवी गर्नुपर्छ वा भनौं प्राथमिकता दिनुपर्छ । वैश्विक शासन प्रणालीमा सुधार गरी सबै देशका जनताको पहुँच, सहभागीता कायम गरी लाभग्राही बनाइनुपर्छ । यसले मानव जातिका साझा चुनौतीहरू समाधान गर्न, उत्तर र दक्षिण धुव्रीय खाडल घटाउन र सबै देशको साझा हित सुरक्षित गर्न मद्दत पुर्‍याउँछ ।

पाँचौँ, हामीले व्यावहारिक कदम चाल्नुपर्छ । योजनाबद्ध र समन्वयकारी सम्बन्ध राखेर स्रोतहरू परिचालन गर्नुपर्छ र ठोस परिणाम हासिल गर्नुपर्छ । शासन प्रणाली ढिलो नहोस् वा विखण्डित नहोस् भनी व्यावहारिक सहकार्य बढाउनुपर्छ ।

You may also like