बुटवल । विद्यालय शिक्षा विधेयकको विरोध गर्दै निजी विद्यालय संचालकहरुले सोमबार देशैभरी सडकमा कालो झण्डा सहित स्कुल बसको र्याली निकालेर विरोध जनाएका छन् ।
उनीहरुले विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै विगत एक महिना देखि आन्दोलनमा छन् । आन्दोलनकै कार्यक्रम अन्तरगत सोमबार उनीहरुले देशैभरीका सडकमा स्कुल बस ¥याली निकालेर बिरोध प्रदर्शन गरेका हुन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन, एनएमएलगायतका निजी शैक्षिक संस्थाका संगठनहरुले संयुक्त रुपमा ¥याली निकालेका हुन् ।
सोही कार्यक्रम अन्तरगत रुपन्देहीका विभिन्न स्थानमा निजी विद्यालय संचालकहरुले सडकमा बस र बसमा कालो झण्डा राखेर सरकारको विरोध प्रदर्शन गरेका थिए । शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिदै आइ रहेका छन् । आफ्ना माग पुरा नभए विभिन्न समयमा विभिन्न खाले आन्दोलन र संघर्षका कार्यक्रम जारी राख्ने आन्दोलन परिचालन समिति रुपन्देहीका सदस्य तथा हिसान रुपन्देहीका अध्यक्ष कृष्णबहादुर न्यौपानेले बताउनुभयो ।
शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द नहटाएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने उहाँले बताउनुभयो । सरकारले शिक्षा विधेयकमा भएका र सच्चाउन भनेका बुदाहरु नसच्चाएमा आन्दोलनका कार्यक्रम जारी राख्ने एन प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले बताउनुभयो । केन्द्रीय सर्कुलर अनुसार नै रुपन्देहीमा पनि कार्यक्रमहरु भई रहेको र निरन्तर हुने प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनालले जानकारी दिनुभयो ।