तिलोत्तमा–५ मणिग्राम चोकमा निःशुल्क पार्किङ सुविधा सुरु

by समतल अनलाइन
101Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोकमा निःशुल्क पार्किङ सुविधा सुरु गरिएको छ । करिब ९३ मिटर क्षेत्रफलमा तयार पारिएको पार्किङ स्थलको बिहीबार नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर खाणले पार्किङ व्यवस्थाले मणिग्रामको व्यापारिक र व्यावसायिक गतिविधि अझ सुगम हुने विश्वास व्यक्त गरे । उनले यो पार्किङ तिलोत्तमा नगरपालिकाभित्र निर्माण भएको पहिलो आधिकारिक सुविधा भएको उल्लेख गर्दै आगामी दिनमा अन्य व्यस्त चोकहरूमा पनि यस्तै व्यवस्था विस्तार गरिने जानकारी दिए ।

“जग्गा सुनिश्चित गर्न सकिएमा आधुनिक सुविधा सहितको बहु–तले (लिफ्टसहित) पार्किङ बनाउन सकिने गरी बजेट विनियोजन गर्न सकिन्छ,” मेयर खाणले भने, “तर त्यस्तो विकासका लागि स्थानियवासीको सहकार्य अपरिहार्य हुन्छ ।”

त्यसैगरी वडा नं. ५ का अध्यक्ष रमेश डुम्रेले पार्किङ सुविधा मणिग्रामबासीकै लामो समयदेखि रहेको आवश्यकता पूरा भएको बताए । उनले भने, “सडकमा अव्यवस्थित रूपमा सवारी साधन रोक्दा दुर्घटना हुने खतरा बढेको थियो, अब यो पार्किङ सुविधा सुरु भएपछि त्यस्तो समस्या हट्नेछ । व्यवस्थित पार्किङले बजार चलायमान हुन्छ, उपभोक्ता सहजै आउन सक्छन् र यहाँको व्यापार–व्यवसायलाई पनि फाइदा पुग्छ ।”

सो अवसरमा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, व्यापार संघका अध्यक्ष नेत्र प्रसाद न्यौपाने तथा ट्राफिक प्रहरी प्रमुख रेशम रिजाललगायतले पनि आफ्नो मन्तव्य राखेका थिए । उनीहरूले व्यवस्थित पार्किङ भएपछि उपभोक्ता सहजै बजार आउन सक्ने, दुर्घटना घट्ने र बजार अझ सक्रिय बन्ने धारणा राखे ।

कार्यक्रमको सञ्चालन वडा सचिव हरि खतिवडाले गरेका थिए ।

You may also like

This will close in 0 seconds