मुलुकको समृद्धि र विकासका लागि आर्थिक क्रान्ति आवश्यक छ : उपप्रधानमन्त्री सिंह

by समतल अनलाइन
53Shares

बुटवल ।उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मुलुकको समृद्धि र विकासको लागि अव आर्थिक क्रान्तिको बाटोमा अघिबढ्नुपर्ने बताउनु भएको छ । प्राप्त अधिकारलाई सुरक्षित गर्नको लागि संविधानको संरक्षण र कार्यान्वयमा सरकार प्रतिवद्ध रहेको पनि भनाई राख्नुभयो ।

नेपाली काँग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बुटवलमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता : उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले संविधान कार्यान्वयनमा आएको १० वर्षको अवधिमा संविधानमा सुधार गर्नुपर्ने कुराहरु आएको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक स्थायित्व र स्थिरताको लागि पनि संविधान संशोधन गर्नुपर्ने बताउँदै त्यसलाई सुक्ष्म अध्ययन र विश्लेषण गरेर अगाडि बढिने भनाई राख्नुभयो ।

‘मुलुकको समृद्धि र विकासको लागि अब आर्थिक गतिबिधिलाई अगाडी बढाउनु पर्छ’, उहाँले भन्नुभयो–‘त्यसका लागि संविधान सुधार गर्नुपर्छ भने पनि सरकार तयार छ ।’ वर्तमान सरकार मुलुकको राजनीतिक स्थिरता र विकासका लागि संविधान संशोधन सहितको जगमा बनेको स्मरण गर्दै उहाँले त्यसमा गहिरो अध्ययन हुनुपर्ने भनाई राख्नुभयो ।

मन्त्री सिंहले सरकारले महँगी र कालोबजारी नियन्त्रण गर्ने पनि बताउनु भएको छ । चाडबाड नजिकिएसँगै बजारमा कालोबजारी र महँगी बढेको गुनासो आउने गरेको भन्दै सरकारले कडाइका साथ अनुगमन गरिरहेको बताउनुभयो ।

उपभोक्ताले सहज र सुलभ रूपमा स्वस्थ खाद्यान्न पाउनु पर्नेमा सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले चाडवाडको मौका छोपेर कालोबजारी गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको पाइएमा सरकारले कडा कारवाही गर्ने चेतावनी पनि दिनुभयो ।

उपप्रधानमन्त्री सिंहले उपभोग्य वस्तुको आन्तरिक उत्पादन बढाउनुपर्नेमा पनि जोड दिनुभयो । अहिलेको सरकार जनताको जीवन र जिविकाप्रति गम्भीर रहेको भन्दै उहाँले उपभोक्ताको हकअधिकार सुनिश्चित गरिने सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुभभयो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तरसंवादले उपभोक्ताको हकअधिकार सुरक्षित गर्ने र उपभोक्तामैत्री नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले उपभोक्तामा सचेतना र उत्पादकमा ईमान्दारिता आवश्यक रहेको भनाई राख्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभाकी प्रमुख सचेतक जमुना ढकाल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, केन्द्रीय सदस्य गंगा शाही, रुपन्देही सभापति रामकृष्ण खाँण, अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, नवलपरासीका कार्यवाहक सभापति विमल यादव, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल लगायत सहभागिहरूले सिमावर्ती जिल्लाहरूमा अस्वस्थकर सामाग्री भित्रिरहेकाले त्यसलाई रोक्नुपर्ने, कालोबजारी नियन्त्रण गर्नुपर्ने र चाडपर्वको मुखमा महँगी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई सुझाव दिनुभएको थियो ।

कार्यक्रममा विभागका प्रमुख गुरु बरालले विभागको अवधारणा सहित विभागले गरिरहेको क्रियाकलापका बारेमा प्रकास पार्नुभएको थियो । उहाँले अन्तरसम्वादमा आएका कुरालाई लिपिवद्ध गरेर समस्या समाधानका लागि सुझाव सहित पार्टीलाई बुझाउने जानकारी गराउनु भयो ।

You may also like

This will close in 0 seconds