काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसमविदले जनाएका छन् । यसको प्रभावले कोशी, मधेश र बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी, मधेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज (बिहीबार) दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै र बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भू–भाग साथै कोशी र लुम्बिनीको तराईका भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।