रूवि हत्या प्रकरण : आरोपी ‘प्रेमी’ ले आफैलाई लगाए आगो, घाइते अवस्थामा पक्राउ

by समतल अनलाइन
54Shares

रौतहट । रौतहट प्रहरीले रुबीकुमारी साह हत्या काण्डका मुख्य आरोपितलाई आज (बुधबार) घाइते अवस्थामा पक्राउ गरेको छ । घटनापछि खोजतलासमा जुटेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक राजु कार्की नेतृत्वको टोलीले मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा जिल्लाको माधव नारायण नगरपालिका–६ बस्ने लक्ष्मण पासवान रहेका छन् । उनी रुबीसँग प्रेम सम्बन्धमा रहेको प्रहरीको भनाइ छ । पासवानलाई जलेर घाइते अवस्थामा माधोपुर गाउँदेखि मानपुर बिसुनपूर्वा जाने बाटो नहरको छेउबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उनले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेको बुझिएको छ । पासवानले घटनामा संलग्नता रहेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । आगोले पासवानको शरीरको विभिन्न भाग जलेकोले उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ ।

शनिवार गौर नगरपालिका–२ डेरा गरी बस्दै आएकी रुबीकुमारी साहको शव सुटकेशभित्र राखिएको अवस्थामा गौर नगरपालिका–९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोड नजिक सडकको पछिम किनारमा फेला परेको थियो । पासवानले रुविको शव फाल्नका लागि रिक्सा भाडामा लिएको र गन्तव्यतर्फ जाँदै गर्दा रिक्सा बिग्रिएपछि शव सडकमै फालेर उनी फरार भएका प्रहरीको भनाई छ ।

शव फाल्नको लागि प्रयोग भएको ई–रिक्साका चालक गौरका लक्ष्मण महरालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो । रुवीको हत्या आरोपमा पक्राउ परेका पासवान केही समयअघि मात्रै मलेसियाबाट नेपाल फर्किएको पाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी कार्कीले बताए ।

You may also like

This will close in 0 seconds