बुटवल । कपिलवस्तुको रामघाट नदीमा सोमबार दिउँसोदेखि बेपत्ता भएका एक किशोरको शव मंगलबार बिहान फेला परेको छ।
कपिलवस्तु नगरपालिका-३ का १४ वर्षीय मोहन चौहान भैंसी चराउन गएका बेला नदीबाट बेपत्ता भएका थिए।
सशस्त्र प्रहरीको उद्धार टोलीले उनको शव रामघाटस्थित हनुमान मूर्ती नजिकै नदीभित्र फेला पारेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रुपेन्द्र कुमार सिंहले शव फेला परेको पुष्टि गरे।
चौहान सोमबार दिउँसोदेखि बेपत्ता भएपछि सशस्त्र प्रहरीको उद्धार टोलीले खोजी कार्य थालेको थियो। टोलीले सोमबार साँझ करिब २ घण्टासम्म खोजी गर्दा पनि उनलाई फेला पार्न सकेको थिएन। मंगलबार बिहान पुनः खोजी सुरु गरेपछि शव भेटिएको हो।
फेला परेको शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।