बुटवल । पछिल्ला दिनमा पाल्पामा डेंगु संक्रमित बिरामीको संख्या तीव्रगतिमा बढ्दै गएको छ । उपचारका लागि अस्पताल धाउने संक्रमित बढेसँगै लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाल्पा सबैभन्दा बढी प्रभावित जिल्लामा परिणत भएको स्वास्थ्य निकायले जनाएको छ ।
तानसेनस्थित तीनवटा ठूला अस्पतालमा डेंगु संक्रमित बिरामी दिनानुदिन भर्ना हुन थालेका छन् । मिसन अस्पतालका अनुसार दैनिक तीनदेखि चार जना नयाँ बिरामी उपचारका लागि आइपुगिरहेका छन् ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार पछिल्लो ६ महिनामा मात्रै १ सय ८३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । उनका अनुसार लुम्बिनी प्रदेशका अन्य ११ जिल्लामा भने यो अवधिभर संक्रमितको संख्या १ सयभन्दा कम छ ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले पहिले मुख्यतः तराई क्षेत्रमा सीमित देखिने डेंगु हालका वर्षहरूमा पहाडी जिल्लामा बढी देखिन थालेको बताए । उनका अनुसार विभिन्न सचेतना तथा नियन्त्रण अभियान भए पनि ती पर्याप्त प्रभावकारी हुन सकेका छैनन् ।
स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका तथ्यांकअनुसार हालसम्म रुपन्देहीमा ८६ जना, दाङमा ६८, गुल्मीमा ५३, बाँकेमा ३४, अर्घाखाँचीमा ३०, बर्दिया र प्यूठानमा १२–१२ जना, रोल्पामा ९ र रुकुममा ३ जना संक्रमित फेला परेका छन् ।
गत तीन वर्षयता पाल्पामा वार्षिक ५ सयभन्दा बढीमा संक्रमण देखिँदै आएको छ । दुई वर्षअघि भने यहाँ डेंगुका कारण २ जनाको ज्यानसमेत गएको थियो ।
स्वास्थ्य कार्यालयले यस वर्ष भदौ र असोज महिनामा संक्रमण अझ फैलिन सक्ने अनुमान गरेको छ । अघिल्ला वर्षहरूमा पनि यही समयमा डेंगु तीव्र रूपमा फैलिएर धेरैलाई प्रभावित पारेको तथ्यांक रहेको कार्यालयले जनाएको छ ।