नवलपरासी पूर्व । नवलपरासी पूर्वको नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
आइतबार साँझ गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको अविनाश ह्याचरी कुखुराको चल्ला बोकेको ना १ क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ प ८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
प्रहरीकाअनुसार ट्रकको ठक्करबाट मोटरसाइकल चालक गैँडाकोट–४ का २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
ट्रकले मोटरसाइकललाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैँडाकोट–४ का प्रतीक घिमिरे घाइते भएका छन् । उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ट्रक चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–९ घर भएका ३५ वर्षीय तुक्तबहादुर आले र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको छ ।