भूगोलले मागेको उम्मेदवार म – रुपन्देही–३ का रास्वपा उम्मेदवार मधु अर्याल

by समतल अनलाइन
48Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर–३ को उपचुनावमा उम्मेदवारका आकाङ्क्षी मधु अर्यालले आफू भूगोलले मागेको उम्मेदवार भएको दाबी गरेका छन् ।

आइतबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै पार्टीको क्षेत्रीय सभापति समेत रहेका अर्यालले पार्टी स्थापनाकालदेखि नै रुपन्देही–३ मा सङ्गठन विस्तारमा सक्रिय रहेको र स्थानीय समस्या तथा सम्भावनाको पहिचानमा जुटेकाले अब अवसर पाए समृद्धिको‘भिजन’ सहित अघि बढ्ने बताए ।

अर्यालका अनुसार आफ्नो मुख्य एजेन्डा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी भैरहवामा भएको पर्यटन क्षेत्रमा लगानी सुरक्षित गर्नु, विमानस्थलसँग जोडिने सडक कनेक्टिभिटी सुधार गर्नु र लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिनु हो ।

यस्तै उनले कृषिलाई व्यवसायीकरण गर्दै माछा सुपर जोन, प्राङ्गारिक खेतीलाई प्रवर्द्धन गर्ने योजनासमेत प्रस्तुत गरे । मतदाताको घरदैलोमा पुग्दा अधिकांश नागरिकले परिवर्तनका लागि रास्वपालाई आशाको रूपमा हेरेका छन्, अहिलेको चुनावी माहोल रास्वपामय बनेको छ, उनले भने ।

अर्यालले रास्वपा वैकल्पिक शक्तिका रूपमा मात्र नभई मूलधारका पार्टीहरूसँग प्रतिस्पर्धा गरेर स्थापित हुने विश्वाससमेत व्यक्त गरे । अभियन्ता, लेखक तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताका रूपमा परिचित अर्यालले आफूलाई पार्टीले टिकट दिए न्याय हुने बताए । रुपन्देही–३ बाट रास्वपाका ९ जना आकाङ्क्षी मध्ये अर्याल पनि एक हुन् ।

You may also like

This will close in 0 seconds