काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब बढी रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको हो ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह एक खर्ब ८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रहेको थियो ।
समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो ।
विदेशी मुद्रा सञ्चिति साढे १९ अर्ब डलर पुग्यो
गत आर्थिक वर्षमा विदेशी विनिमय सञ्चितिमा नयाँ रेकर्ड कायम भएको छ । गत असारसम्म यस्तो सञ्चिति ३१.२ प्रतिशत बढेर २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको थियो । गत ०८२ असार मसान्तमा २७.७ प्रतिशत वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा ०८२ असार मसान्तमा ३०.६ प्रतिशत वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति ०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकामा ०८२ असार मसान्तमा ३६.६ प्रतिशत बढेर दुई खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ कायम छ । ०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । ०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ४३.८, १२८.१ र ३४.१ प्रतिशत छन् ।