शुद्धोदनमा दोस्रो बृहत् खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न, नेपाल मगर संघ विजयी

by समतल अनलाइन
96Shares

नगेन्द्र केसि
शुद्वोदन। शुद्धोदन गाउँपालिका–४ फर्साटिकरमा शुद्धोदन उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो बृहत् खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा नेपाल मगर संघ, मगर टोल इकाई समितिले प्रथम स्थान हासिल गर्दै नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्राप्त गरेको छ। दोस्रो स्थानमा नवजागृति आमा समूह, तेस्रो स्थानमा ड्रिमभिजन माध्यमिक विद्यालय र सान्त्वना स्थानमा यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस पुगेका छन्। साथै, उत्कृष्ट नृत्यतर्फ युनाइटेड अङ्ग्रेजी स्कुल र उत्कृष्ट अभियानतर्फ तिलोत्तमा माध्यमिक विद्यालय पुरस्कृत भएका छन्।

कार्यक्रम शुद्धोदन उद्योग वाणिज्य संघका अध्यक्ष लालमणी श्रेष्ठको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि बस्यालले पानसमा दीप प्रज्वलन गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए।

उनले शुद्धोदन उद्योग वाणिज्य संघले महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा संस्कृतिको झल्को दिनेगरी आयोजना गरेको प्रतियोगिताले पालिकामात्र नभई छिमेकी पालिकाका दिदीबहिनीलाई पनि जोड्ने अवसर मिलाएको बताए। साथै, संघलाई निजी भवन निर्माणका लागि १५ लाख रुपैयाँको पहिलो किस्ता छिट्टै उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे।

कार्यक्रममा लोकदोहोरी गायक प्रकाश पराजुली र गायिका उमा देवी खनालले सांगीतिक प्रस्तुति दिँदा उपस्थित दर्शक झुमेका थिए।

सो अवसरमा गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, वडा नं. ४ का अध्यक्ष तथा प्रवक्ता केशवप्रसाद अधिकारी, संघका सल्लाहकार नारायण प्रसाद घिमिरेलगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रम संयोजक शोभा कुमारी आलेको स्वागत र महासचिव विष्णु पंगेनीको सञ्चालनमा सम्पन्न भएको प्रतियोगितामा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

You may also like