बुटवल । जोहाङ रूपन्देही सम्पर्क समाजले शनिबार शंकरनगरस्थित वनबाटीकामा तीज विशेष तीज मिलन कार्यक्रम–२०८२ सम्पन्न गरेको छ।
सत्यवती–६, गुल्मी जोहाङ जन्म वा पुर्खौली घर भई हाल देश–विदेशमा रहेका दिदीबहिनी, दाजुभाइ, आमा–बुबालाई सम्पर्कमा राख्न, एकतामा बाँध्न र आत्मीयता बढाउन समाजले वर्षैभरि तीज मिलन कार्यक्रम गर्दै आएको अध्यक्ष परशुराम भण्डारीले बताए। उनका अनुसार जोहाङबासीलाई एकै भान्सामा जोड्ने परम्परा संस्थाको विशेषता हो।
कार्यक्रमका प्रमुख अतिथि सत्यवती गाउँपालिका–६ का वडाध्यक्ष विष्णुप्रसाद भण्डारीले जहाँ रहे पनि मातृभूमि र पुर्खौली गाउँलाई नबिर्सन आग्रह गरे। आफू शिक्षक छँदा देखिनै जोहाङबासीको दुःख–सुखमा साथ दिँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे।
त्यस्तै, गुल्मी क्षेत्र नं. १ का संघीय सांसद माननीय चन्द्र भण्डारीले पनि कार्यक्रममा उपस्थिति जनाउँदै “जोहाङबासीको सुन्दर मनसँग भेट्न पाउँदा खुशी लागेको” भन्दै तीजको शुभकामना दिए।
संस्थाका अध्यक्ष परशुराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव धुर्व भण्डारीले जेरि सौजन्य गरेका थिए भने पिउने पानी र ब्यानरको व्यवस्थापन गंगाराम भण्डारी, विश्वनाथ ढकाल र अशोक गौतमले गरेका थिए।
स्वागत मन्तव्य उपाध्यक्ष ईश्वरी भण्डारीले दिएका थिए। उनले जोहाङबासी दाता तथा सदस्यहरूको सहयोग र हौसलाले मात्र कार्यक्रम सफल भएको भन्दै कृतज्ञता प्रकट गरे।
सचिव अर्जुन ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा दाताहरूको सम्मानसँगै दोहाङमा उत्पादित वस्तुबाट तयार परिकारसहित दर खाने, नाचगान गर्ने तथा रमाइलो गर्ने वातावरण बनेको आजीवन सदस्य आशिष ढकाल यशस्वीले जानकारी दिए।