अनुदान माग्दै उखु किसानले फेरि काठमाडौंमा थाले धर्ना

by समतल अनलाइन
67Shares

काठमाडौँ । सरकारले निर्धारण गरेको अनुदान रकम नपाएको भन्दै तराई–मधेशका उखु किसानहरु फेरि काठमाडौं आएर धर्ना थालेका छन् । सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि किसानहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् ।

आर्थिक वर्ष ०८१/०८२ को उखुको बक्यौता भुक्तानी हुनुपर्ने उखु उत्पादक महासंघ नेपालको भनाइ छ । आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरूको भनाइ छ । अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू सांकेतिक रूपमा उखु बोकेरै माइतीघर मण्डलामा भेला भएका छन् ।

महासंघका संयोजक श्यामबाबु रायका अनुसार चिनी उद्योगहरूले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ५८५ रुपैयाँ भुक्तानी गरिसकेका छन्, तर सरकारले दिने कबुल गरेको अनुदान नपाउँदा किसानहरू सडकमा उत्रिन बाध्य भएका हुन् । ‘सरकारले हाम्रो उखुको रेट तय गरेर आजको दिनमा एकाएक मनोमानी ढंगले हटाउन मिल्दैन,’ संयोजक रायले भने, ‘राज्य आफैंले उखुको भाउ निर्धारण गर्छ, अनि अहिले पैसा नदिएर सुख पाउँछ ? हामी किसान मर्दैनौं ?’

उनका अनुसार आन्दोलनमा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका किसानहरूको सहभागिता छ । विशेषगरी सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका करिब ५०० देखि ६०० किसानहरू प्रदर्शनमा सहभागी भएको रायले जानकारी दिए । उनीहरू हाल सिंहदरबार क्षेत्र हुँदै माइतीघरतर्फ बढिरहेका छन् ।

महासंघले तत्कालका लागि चार दिने आन्दोलन कार्यक्रम घोषणा गरेको छ । ‘यदि सरकारले हाम्रो माग आजै पूरा गर्छ भने हामी एकै दिनमा आन्दोलन फिर्ता लिन तयार छौं,’ रायले भने, ‘तर, यदि चार दिनभित्र पनि माग पूरा भएन भने हामी अर्को चरणको कार्यक्रम घोषणा गर्छौं । जबसम्म माग पूरा हुँदैन, हामी आन्दोलन छोड्नेवाला छैनौं ।’

आर्थिक वर्ष २०८१/८२ मा देशका १३ वटा चिनी मिलमा किसानहरूले २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेका थिए । यसअनुसार सरकारले किसानलाई करिब एक अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

You may also like

This will close in 0 seconds