बुटवल । रूरूक्षेत्र गाउँपालिका लगातार दोस्रो पटक उत्कृष्ट गाउँपालिकामा पर्न सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० विषयगत क्षेत्रका १०० सूचकका आधारमा गरेको मूल्याङ्कनमा रूरूक्षेत्रले ९० अंक प्राप्त गर्दै देशभरका गाउँपालिकामध्ये दोस्रो स्थान हासिल गरेको हो ।
यसअघि पनि गाउँपालिकाले ८७ अंकसहित दोस्रो स्थान पाएको थियो । लगातार दोस्रो पटक उत्कृष्टमा पर्नु गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको नेतृत्व र प्रमुख प्रशासकीय अधिकृतको सक्रिय प्रशासनिक भूमिकाको परिणाम भएको मानिएको छ ।
यसै सफलताको अवसरमा मन्त्रालयले आज भदौ ६ गते, शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा रूरूक्षेत्र गाउँपालिकालाई विशेष सम्मान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले यो उपलब्धि हाम्रो सामूहिक मेहनत, पारदर्शिता र नागरिक सेवाप्रतिको लगनशीलताको परिणाम हो । भविष्यमा अझै उत्कृष्ट बनाउन हामी निरन्तर खटिने बताउनु भएको छ।
प्रमुख प्रशासकीय अधिकृतले पनि पालिकाको सफलता सबै जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, स्थानीय संघ–संस्था र नागरिकको सहकार्यकै कारण सम्भव भएको बताउँदै निरन्तर सुधार र परिणाममुखी कार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
गाउँपालिकाले शासकीय प्रबन्ध, बजेट तथा योजना व्यवस्थापन, वित्तीय अनुशासन, सेवा प्रवाह, न्यायिक कार्य, सामाजिक समावेशीकरण, भौतिक पूर्वाधार, वातावरण संरक्षण, विपद् व्यवस्थापन र सहकार्यका क्षेत्रमा देखाएको प्रगतिकै आधारमा यो सम्मान प्राप्त गरेको हो ।