नेपाली सेनाको ऐतिहासिक विजय स्मरण गर्दै पाल्पामा भगवती जात्रा

by समतल अनलाइन
51Shares

पाल्पा । जितगढी युद्धको सम्झनामा आइतबार (आज) रणउजिरेश्वरी भगवतीको रथयात्रा (भगवती जात्रा) निकालिँदै छ।

साढे १२ बजे रथ उठाउने साइत जुरेको छ। जत्राको तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए।  पाल्पामा हरेक वर्ष यो जात्रा निकालिन्छ। नेपाली सेनाले अंग्रेज सेनालाई परास्त गरेको सम्झनामा विजयोत्सवको रुपमा भगवती जात्रा निकाल्ने गरिन्छ। यो वर्ष २०६औं संस्करणको रुपमा जात्रा निकाल्न लागिएको हो।

भगवती जात्रा पाल्पाको एउटा ऐतिहासिक जात्रा हो। भगवतीको रथयात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ। विसं.१८७१/७२ मा जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालिन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो।

भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारवादको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको खुसियालीमा विजयोत्सव सहित भगवतीको रथयात्रा निकालिने चलन छ। जितगढीको युद्ध ऐतिहासिक मानिन्छ। 

युद्धमा विजयी प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै  सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए। १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो। 

जात्राको दिन आज प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ।  जात्राको अवलोकन गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे विहान ११ बजे तानसेन आइपुग्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए।

जात्राको अवलोकनसँगै भगवती मन्दिरमा पुजाआरधाना गर्ने कार्यक्रम रहेको छ। भगवती जात्रा अवलोकनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पनि आउने छन्। अन्य प्रदेश मन्त्री, पाल्पाबाट निर्वाचित संघीय सांसदको जात्रामा सहभागिता रहने छ। 

You may also like