रोटरी क्लब अफ बुटवलका सामाजिक परियोजनामा डिष्ट्रिक गर्भनरको स्थलगत अवलोकन

by समतल अनलाइन
17Shares

बुटवल। रोटरी क्लब अफ बुटवलले यस क्षेत्रमा सञ्चालन गरेका विभिन्न सामाजिक तथा विकास परियोजनाको स्थलगत अवलोकन रोटरी ३२९२ का डिष्ट्रिक गर्भनर विनोद कोईराला, सेक्रेटरी सुभाष सिग्देलसहितको टोलीले गरेको छ।

विशेषगरी, तिलोत्तमास्थित वनवाटिका तथा अनुसन्धान केन्द्रभित्र सञ्चालनमा रहेका मोनो रेल, रोटरी वाटिका, ई–लाइब्रेरी, शाइन्स थिएटर, रक्तदानका लागि प्रदान गरिएको रोटरी एम्बुलेन्स बस तथा भ्यान, साथै मगरघाटमा निर्माण गरिएको पर्यावरणमैत्री शवदाह गृहको निरीक्षण गरिएको क्लबका अध्यक्ष कृष्ण पराजुलीले जानकारी दिए।

अवलोकनका क्रममा वनवाटिका तथा अनुसन्धान केन्द्रका अध्यक्ष खिमलाल पाण्डेले पार्कका परियोजनाबाट वार्षिक करिब २० लाख रुपैयाँ आम्दानी हुने र सो आम्दानीको २० प्रतिशत आपतकालीन कोषमा राखी आवश्यक मर्मत–सम्भार तथा संचालन खर्चमा प्रयोग गर्ने व्यवस्था गरिएको बताए।

निरीक्षणपछि अफिसियल क्लब भिजिट, १५७७औँ नियमित बैठक र तेस्रो क्लब एसेम्बली कार्यक्रम सम्पन्न गरिएको थियो। सो अवसरमा क्लबका पदाधिकारीहरूले २०२५/२६ का लागि तय गरिएको वार्षिक कार्यक्रमबारे गर्भनर कोईरालालाई जानकारी गराए। कार्यक्रममा एडमिन डाइरेक्टर खिमनारायण पराजुली, क्लब सर्भिस डाइरेक्टर लालहरि पाण्डे, द रोटरी फाउन्डेशन डाइरेक्टर छबिन्द्र भट्टराई, मेम्बरशिप कमिटी डाइरेक्टर जीवकान्त काफ्ले, पब्लिक कमिटी डाइरेक्टर गोविन्द खनाल र प्रेसिडेन्ट–इलेक्ट मधु प्रसाद अर्यालले आफ्नो–आफ्नो क्षेत्रका योजनाबारे प्रस्तुत गरे।

सोही समारोहमा पूर्व अध्यक्ष अजयमान श्रेष्ठले पदहस्तान्तरण कार्यक्रमलाई भडकिलो बनाउनुभन्दा खर्च कटौती गर्दै रोटरीयनहरूबाट उठ्ने शुल्क वृद्धि गर्न सुझाव दिए।

रोटरी क्लबको योजना सुनेपछि गर्भनर कोईरालाले दाताहरूसँगको सम्बन्ध सुदृढ बनाए मानविय सेवाका क्षेत्रमा अझ धेरै काम गर्न सकिने धारणा राखे। उनले विश्वमा शान्ति स्थापनाका लागि रोटरीको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै स्कलरशिपमार्फत करिब १,९०० पिस स्कलर्स तयार भई शान्ति स्थापनामा सक्रिय रहेको जानकारी दिए। साथै, रोटरीमा एकता आवश्यक रहेको र ‘नहुनेलाई दिने, नभएकाको आवश्यकता पूरा गर्ने’ भावनासहित काम गर्न निर्देशन समेत दिए।

कार्यक्रम क्लबका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षतामा, सचिव शिवकुमार ज्ञवालीको सहजीकरणमा सम्पन्न भएको हो।

You may also like

This will close in 0 seconds