काठमाडौं । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकोले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भूभाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ ।
जसको प्रभावले देशभर पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । काठमाडौंलगायत केही स्थानमा हिजोबाट लगातार वर्षा भइरहेको छ ।
आज (बिहीबार) दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी साधरणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागमा साधरणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
गण्डकी प्रदेशको पहाडी तथा तराई लगायत बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावका साथै, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।