देवदहमा ७५ लाख लागतको बालगोपाल शिश महल निर्माण सम्पन्न, साउन ३१ गते उद्घाटन हुने

by समतल अनलाइन
53Shares

बुटवल । रुपन्देहीको देवदह, शित्तलनगरस्थित दुर्गा मन्दिर संरक्षण समितिले निर्माण गरेको बालगोपाल शिश महल निर्माण सम्पन्न भएको छ । एक वर्षअघि शिलान्यास गरिएको शिश महल यही साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा उद्घाटन हुने भएको हो।

समितिका अध्यक्ष सिपी बस्यालका अनुसार झण्डै ७५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको शिश महलभित्र भगवान् कृष्णको बाललिला, बालगोपिनी लिला, कालिनाग मर्दन, विराट स्वरूपलगायतका कलाकृतिहरू कोरिएका छन्। मंगलबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले श्रीकृष्ण जन्माष्टमीकै दिन १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराजबाट शिश महलको उद्घाटन हुने जानकारी दिए।

गुरुयोजनाअन्तर्गतका अन्य संरचना
समितिले देवदह मणिदीप गुरुयोजना अन्तर्गत मन्दिर हाताभित्र अर्जुन रथ, बुद्ध विहार, वाटर फाउण्टेन, रमणीय धार्मिक पार्क, विश्राम स्थल, आकर्षक प्रवेशद्वारलगायत पूर्वाधारहरू निर्माण गरिसकेको छ। उद्घाटनकै दिन संघीय सांसद छवीलाल विश्वकर्माबाट मन्दिर परिसरभित्रको बुद्ध विहारको पनि उद्घाटन हुने कार्यक्रम तय भएको छ।

अध्यक्ष बस्यालका अनुसार देवदहलाई सांस्कृतिक तथा धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित शिश महल निर्माण गरिएको हो। “मायादेवीको जन्म, बुद्धको मावली तथा यशोधराको जन्मस्थलको ऐतिहासिक र धार्मिक परिचय दिंदै आन्तरिक तथा बाह्य पर्यटकलाई देवदहमा रात बिताउन र विश्रामस्थलको सुविधा उपलब्ध गराउने योजना अन्तर्गत यो कार्य गरिएको हो,” उनले बताए।

आर्थिक स्रोत र शुल्क व्यवस्था
निर्माण खर्च मन्दिरको आफ्नै आम्दानी, दान-दक्षिणा, स्थानीय चन्दा, सहयोगी महानुभाव तथा देवदह नगरपालिका लगायतका स्रोतबाट संकलन गरिएको हो। आगामी दिनमा पनि यस्तै स्रोतमार्फत मन्दिरका अन्य पूर्वाधार विस्तार गरिने समितिको योजना छ।

शिश महल उद्घाटनको दिन सर्वसाधारणका लागि प्रवेश निशुल्क हुने भए पनि त्यसपछिका दिनहरूमा अवलोकनका लागि शुल्क तोकिएको कोषाध्यक्ष दिनानाथ सापकोटाले जानकारी दिए। सर्वसाधारणका लागि ५० रुपैयाँ, विद्यार्थी, असहाय तथा वृद्धवृद्धाका लागि ३० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।

You may also like

This will close in 0 seconds