काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमिहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।
आयोगको वार्षिक समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरुलाई अबको दुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिए ।
“यो आयोग काम नगर्नका लागि वा विगतका जस्तै असफल हुनका लागि गठन गरिएको होइन । काम गर्नका लागि, परिणाम निकाल्नका लागि र लालपूर्जाबिहीनलाई त्यसबाट मुक्त बनाउनका लागि गठन गरिएको हो ।’
प्रधानमन्त्री ओलीले भने, ‘भूमिहीन र अव्यवस्थित बसोबासीले जमिन पाउनु पर्छ । त्यसका लागि कामका सन्दर्भमा सरकारको कुनै सहयोग वा कानुन संशोधन आवश्यक भएमा हामी गर्छाै । मुलुकको विशेष परिस्थितिमा दुई ठुला दलको सहकार्यमा बनेको यो गठबन्धन ढुक्कका साथ २०८४ सम्म जान्छ । हामी टालाटुली बाटुली, कति राम्री पुतली भने जस्तो गरेर के–के भेला पारेर सरकार बनाउने पक्षमा छैनौं । यस्तो स्थिर सरकारको समयमा आयोगलाई काम गर्न कुनै दुविधा हुँदैन र हुन दिइँदैन ।’
उनले अनेक स्वार्थ समूहको प्रभावमा पर्न सकिने भएकाले त्यसबाट बचेर बदनाम नहुने गरी काम गर्न पनि आयोगको नेतृत्वलाई आग्रह गरे । उनले आफूलाई केही मानिसले कांग्रेसभित्र ठूलो समस्या भयो, संसदीय दलको नेता फेर्न १२ जना अभाव रहेको, पुर्याएर सरकार ढाल्ने षड्यन्त्र भइरहेको भनेर सुनाउन आएको समेत उल्लेख गरे ।
‘सरकार परिवर्तन हुन्छ, हुन्छ, हुन्छ,’ ओलीले अगाडि भने, ‘आज बिहान आएर मात्रै मलाई एक जनाले भन्यो–नेपाली कांग्रेसभित्र एकदम ठूलो समस्या हुने भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन, १२ जना पुर्याएर ढाल्ने भए भनेर सुनाएको थियो । यो कथा कति सुन्नु, कान टट्याइसक्यो । यो कथा हो । यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन । यो सरकार स्थिर सरकार हो ।’ यो सरकार ०८४ को पुससम्म जाने समेत उनको भनाइ ।