कैलाली कारागार घटना : मृत्तकका परिवारले दिए जाहेरी, चौंथो दिन शव उठाउने तयारी

by समतल अनलाइन
52Shares

कैलाली । कैलाली कारागारभित्र कैदीबन्दीबीच झडप हुँदा मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव उठाउन परिवार चौंथो दिन (सोमबार) तयार भएका छन् ।
प्रदेश सरकारले मृतकका परिवारलाई प्रदेश सरकारद्वारा पाँच लाख क्षतिपूर्ति घोषणा र छोरीको पढाइको जिम्मेवारी प्रशासनले मिलाउने प्रतिबद्धता जनाएपछि शव बुझ्न तयार भएको मृतकका भाइ विजय चौधरीले जानकारी दिएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले शवको पोस्टमार्टम सकिएको र आजै आफन्तलाई शव बुझाउन लागिएको बताए । मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनु पर्ने, हाल आठ कक्षामा अध्ययनरत छोरी बन्दनालाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग राख्दै थिए ।

लागूऔषध सेवनको आरोपमा चौधरीलाई माघ ४ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो । परिवारका अनुसार करिब एक महिना प्रहरी थुनामा रहेपछि डेढ वर्षको जेल सजाय तोकिएर कारागार चलान गरिएको थियो । भरतको परिवारमा कक्षा आठमा अध्ययनरत एक छोरी, आमा र भाइ छन् । छलफल पछि जिल्ला प्रहरी कार्यालयका मृतकका परिवारले जाहेरी पनि दिएका छन् ।

उक्त जाहेरी दर्ता भएर अनुसन्धान अघि बढिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । जाहेरी दर्ता पछि मृतकका आफन्तहरू शव बुझ्न तयार भएको र पोस्टमार्टम प्रक्रिया सुरु भएको उनले जानकारी दिए ।

You may also like